• २६ कात्तिक २०८२, बुधबार

बढ्न थाल्यो सुनको मूल्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा दुई हजार तीन सय रुपियाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो तीन दिनको अवधिमा बजारमा सुनको मूल्य तोलामा सात हजार आठ सय रुपियाँले बढेको छ । 

मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार १४५ अमेरिकी डलर पुगेको छ । सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्य प्रतिऔँस ८८ डलरले बढेको छ । 

यसअघि ३१ असोजमा दुई लाख ५८ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर गत साता दुई लाख ३६ हजारमा झरेको थियो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकी बजेट पास नभएकाले आर्थिक गतिविधि चलायमान नहुँदा सुनको मूल्य बढ्न थालेको उहाँले जानकारी दिनुभयो । 

बिचमा केही समय स्थानीय बजारमा सुनको मूल्य घटे पनि कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । मङ्सिरमा विवाहको सिजन भए पनि बजारमा सुनको माग बढ्न नसकेको उहाँको भनाइ छ । 

नेपाल राष्ट्र बैङ्कले दैनिक २५ केजी सुन आयात गर्न कोटा निर्धारण गरेको छ । बजारमा माग बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । 

यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को तीन महिनामा १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपियाँ बराबरको ६०१ केजी सुन आयात भएको छ ।