• २६ कात्तिक २०८२, बुधबार

प्रमुख कार्यकारी अधिकृतमा आचार्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । सानिमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिको निर्णय अनुसार आचार्यलाई आगामी माघ १२ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले २०६० सालमा सानिमा बैङ्कको स्थापनाकालदेखि कार्यरत रहेर बैङ्किङ क्षेत्रमा २१ वर्ष लामो अनुभव सँगाल्नुभएको बैङ्कले जनाएको छ ।

हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारीमा रहेका उहाँले यसअघि पनि बैङ्कको १० वटा विभागमा विभागीय प्रमुखका रूपमा काम गरिसक्नुभएको छ ।

कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेका आचार्य  बैङ्कको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिका अध्यक्षका  रूपमा कार्यरत हुनुहुन्छ । प्रडक्सन इन्जिनियरिङमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गर्नुभएको छ ।