सुर्खेत समाचारदाता
सुर्खेत, कात्तिक २० गते । शिक्षक सरुवाका विषयमा सुर्खेतको वीरेन्द्रनगर नगर कार्यपालिका र शिक्षक आमनेसामने भएका छन् । नगरपालिकाले स्थानीय ऐनका आधारमा शिक्षकको सरुवा, प्रधानाध्यापक व्यवस्थापन, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गरेको दाबी गरेको छ भने शिक्षकले नगर कार्यपालिकाले एकलौटी रूपमा, आस्थाका आधारमा शिक्षक सरुवा गरेको, आफूनिकटलाई प्रअ नियुक्त गरेको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।
नगरपालिकाले नगर कार्यसमिति र नगर शिक्षा समितिको निर्णय भन्दै कात्तिक १२ गते शिक्षक सरुवा गरेको थियो । दुवै पक्षले आफ्ना अडान राख्दै एकअर्काविरुद्ध उत्रिएका छन् । शिक्षक महासङ्घ, शिक्षक सङ्घ, विद्यालय व्यवस्थापन समिति महासङ्घले कात्तिक १५ गते नगरपालिकाको निर्णय खारेजको माग गर्दै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका थिए । त्यसपछि नगरपालिकाले आन्दोलनमा उत्रिएका शिक्षकलाई मङ्गलबार वार्तामा बोलाएको थियो । वार्तामा नगरपालिकाले पहिले ताला खोलेर वार्ता गर्नुपर्ने सर्त राखेपछि शिक्षकले अस्वीकार गरेका थिए । त्यसलगत्तै नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर कार्यपालिकाले गरेको निर्णय न्यायपूर्ण भएको दाबी गरेको थियो ।
नगरप्रमुख मोहनमाया ढकालले स्थानीय ऐनका आधारमा प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गरेको जिकिर गर्नुभयो । उहाँले आफ्नालाई नजिक र अरूलाई टाढा पारिएको आरोपलाई अस्वीकार गर्दै लामो समय एकै ठाउँमा बसेका शिक्षकलाई अर्को विद्यालयमा पठाउँदा शैक्षिक गुणस्तरमा वृद्धि आउने अपेक्षा गर्नुभयो । नगर कार्यपालिकाले बनाएको कानुनमै टेकेर निर्णय गरिएको र कसैलाई अन्याय भएको छ भने बसेर छलफल गर्न सकिने उहाँको भनाइ छ । नगरपालिकाले नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि यो कदम चालेको नगरप्रमुख ढकालले बताउनुभयो । यता शिक्षकहरूले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक सङ्घ सुर्खेतका अध्यक्ष सुरेन्द्रबहादुर रावतले नगरपालिकाले कानुनविपरीत शिक्षकको सरुवा, दरबन्दी मिलान गरेको दाबी गर्नुभयो । उहाँले सङ्घीय शिक्षा ऐन नबनेको र अहिले पनि नेपालका विद्यालय शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ अनुसार नै सञ्चालन भएकाले प्रधानाध्यापक छनोट गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिको भए पनि नगरपालिकाले उक्त अधिकार कटौती गरी मनोमानी गरेको बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द कोइरालाले विद्यालय व्यवस्थापन समितिको अधिकारलाई नगरपालिकाले हस्तक्षेप गरेको बताउनुभयो । उहाँले शिक्षकको माग सम्बोधन नभए धर्नालगायत शान्तिपूर्ण रूपमा सङ्घर्षका कार्यक्रमलाई निरन्रता दिने र त्यति गर्दा पनि सुनुवाइ नभए कानुनी उपचारमा जाने जानकारी दिनुभयो ।
तलब नपाएपछि तालाबन्दी
पञ्चकोशी समाचारदाताका अनुसार तलब नपाएको भन्दै दैलेखको ठाँटीकाँध गाउँपालिकामा शिक्षकले तालाबन्दी गरेका छन् । करिब ११ महिनादेखि शिक्षकले तलब नपाएपछि ठाँटीकाँध गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाभरिका शिक्षकले तलब नपाउँदा विद्यालय सञ्चालनमा समेत समस्या उत्पन्न भएको दशरथ माध्यमिक विद्यालय प्याडुल्लीका शिक्षक हिमबहादुर शाहीले बताउनुभयो । उहाँले करिब ११ महिनादेखि तलब नपाउँदा शिक्षक आर्थिक सङ्कटमा परेका कारण तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो ।
यता वार्तामार्फत शिक्षकका समस्या समाधानका लागि पहल भइरहेको ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले अघिल्लो वर्ष तलब दिने सहमति भए पनि बजेट अभावका कारण दिन नसकिएको जनाउनुभयो । गाउँपालिकाले शिक्षकको बाँकी तलब भुक्तानी गर्नका लागि करिब साढे चार करोड रकम आवश्यक भएको बताउनुभयो । सकेसम्म गाउँपालिकाले समाधान निकाल्ने तयारी गरिरहेको जनाएको छ ।