साहारा लिम्बू
फुङलिङ, कात्तिक २० गते । ताप्लेजुङमा निःशुल्क अनलाइन कक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
फुङलिङ नगरपालिका ताप्लेजुङको आयोजना तथा घुन्सा फाउण्डेसन काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क अनलाइन कक्षा सम्बन्धी तालिम बुधबारबाट सुरु भएको हो ।
अभिमुखीकरण कार्यक्रम अन्तर्गत पहिलो दिन नगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई भानु जन माध्यमिक विद्यालयमा तालिम दिइएको थियो ।
उक्त कार्यक्रममा भानु जन मावि, बाल सुबोधनि संस्कृत विद्यालय मेदिबुङ, युवा वर्ष मावि कलेजले, जनता मावि हाङदेवा, सिम्भु मावि फावाखोला, मयम मावि फुरुम्बु, सिद्वकाली मावि दोखु र बिरेन्द्र मावि देवलिङ्गे गरी आठ वटा सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत करिब तीन सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
सामुदायिक, संस्थागत र परम्परागत विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एसईईमा कसरी उच्च अङ्क ल्याउन सकिन्छ भनेर कार्यक्रम गरिएको घुन्सा फाउण्डेसनकी संस्थापक याङजोङ शेर्पाले बताउनुभयो ।
साथै उहाँले आफ्नो जीवनी सुनाउँदै विद्यार्थीलाई राम्रोसँग अध्ययन गरी उच्च अङ्क ल्याउन प्रेरणा समेत प्रदान गर्नुभयो ।
त्यसैगरि, फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले आफ्नो कार्यकालमा नगरपालिका भित्रका विद्यार्थीका लागि एम.वि.वि.एस चिकित्सक, हाइड्रो इन्जिनियर, भेटनरी चिकित्सक र आईटी इन्जिनियर लगायतका विषयहरू अध्ययनका लागि बजेट विनियोजन गरिएको जानकारी गराउँदै आगामी दिनहरूमा पनि शिक्षा क्षेत्रको विकासका लागि आफू लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एम्बिसन गुरु एप्सबाट कसरी निशुल्क कक्षा लिने भन्ने बारेमा समेत जानकारी गराइएको थियो ।यसअघि नगर प्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले एम्बिसन गुरु एप्स मार्फत नि :शुल्क अनलाइन कक्षा सञ्चालन तथा सहभागिताका लागि निर्णय गरिएको थियो ।
यस्तै, बिहिबार संस्थागत र परम्परागत विद्यालयका विद्यार्थीहरूका लागि उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको सभाहलमा बिहान १० बजेबाट अभिमुखीकरण कार्यक्रम हुनेछ ।
एस्बिसन गुरु एप्सले निःशुल्क रुपमा एसईईको लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।