• १९ कात्तिक २०८२, बुधबार

संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १९ गते । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् ।

सहकार्यका लागि मङ्गलबार आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारूमगर र सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

संस्थागत आर्थिक अपराध अनुसन्धानका लागि दक्षता अभिवृद्धि गर्नु लेखा परीक्षणसँग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी दुई निकायबिच समन्वय र सहकार्य स्थापित गर्नु सहकार्यको उद्देश्य रहेको उल्लेख छ ।

समझदारी अनुसार ब्युरोले विषयसँग सम्बन्धित प्राविधिक तथा विशेषज्ञता माग गरेमा आक्यानले सहयोग गर्ने जनाइएको छ । फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गराइने पनि समझदारीमा उल्लेख छ । 

संस्थाका सदस्यविरुद्ध कुनै जाहेरी वा उजुरी परेको अवस्थामा सो सम्बन्धमा छानबिन गर्दा ब्युरोले आइक्यानसँग आवश्यक समन्वय गर्ने पनि समझदारीमा उल्लेख छ । नेपाल प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषय भएमा थप छानबिन गरी अनसुन्धान गर्न संस्थाले आवश्यक कागजातसहितको जानकारी ब्युरोलाई गराउने समझदारी भएको छ ।

कार्यक्रममा आइक्यान अध्यक्ष मगर र सिआइबीका प्रमुख केसीले वर्तमान समयमा संस्थागत वित्तीय अपराध व्यापक मात्रामा बढ्दै गएकाले आपसी सूचना आदानप्रदानमा यस समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।