शेरबहादुर सार्की
बाजुरा, कात्तिक १९ गते । बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो परेको छ । वैशाख, जेठमा पाखो जमिनमा लगाएको सिमी पाकेपछि पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई भित्र्याउने चटारो परेको हो ।
पछिल्लो समय पाँडीका किसान प्रायः सिमी नै लगाउँछन् । यसलाई दालका रूपमा प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै उपयोगी यो सिमीको माग धेरै बढेकाले किसानले पनि धेरै लगाउन थालेको पाँडीका स्थानीय जुना रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोदोसँगै सिमी पनि पाकेको छ । कात्तिकमा धेरै पानी पर्दा त्यसले भिजाउँछ कि भन्ने डरले अहिले स्थानीयलाई सिमी भित्र्याउन भ्याइनभ्याइ छ ।”
यो अर्गानिक हुन्छ । उहाँका अनुसार भेडाबाख्राको पिसाब र जुतोमा सिमी उत्पादन हुन्छ । त्यसैले यसको माग धेरै बढेको छ । किन्नका लागि पनि अहिले गाउँमै व्यापारी आउने गरेको जुना रोकायाले बताउनुभयो । पाखो जमिनमा धेरै राम्रो फल्ने भएकाले किसानले कोदोसँगै सिमी लगाउने गरेका छन् ।
यहाँको सिमी पहिला फाट्टफुट्ट जिल्लाको मार्तडी बजारसम्म पुग्ने गथ्र्यो । यसलाई कर्मचारी तथा अन्यले किन्थे । अहिले गाउँमा गाडी पुगेपछि जिल्लाबाहिर समेत बिक्री हुने गरेको छ ।
पहिला सिमी कतै बिक्री नहुने भएकाले यहाँका स्थानीय आफूलाई खानका लागि मात्र लगाउँथे । दुर्गम गाउँबस्ती तथा पाँडीको गाउँमै सडक पुगेपछि यहाँका किसानले उत्पादन गरेको यो सिमी देशका विभिन्न ठाउँमा पुग्न थालेपछि पछिल्लो समय सिमी बढी लगाउन थालेका छन् । अहिले यहाँका एक घरपरिवारले झन्डै दुई क्विन्टलभन्दा बढी सिमी उत्पादन गर्ने गरेको स्थानीय रोकायाले बताउनु भयो ।
बाजुरामा सिमीलाई मुख्य दालका रूपमा लिइने गरिन्छ । यहाँ सिमी राम्रो उत्पादन पनि हुन्छ । यसले यहाँका स्थानीयको आर्थिक रूपमा टेवा पुग्ने सम्भावना देखिएकाले यसको राम्रोसँग खेती गर्न किसानलाई उत्प्रेरित गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दालगायतका विभिन्न ठाउँमा सिमी राम्रो उत्पादन हुने गरेको भए पनि कति हेक्टर जमिनमा कति सिमी उत्पादन हुन्छ भन्ने खासै यकिन नभएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।