• १९ कात्तिक २०८२, बुधबार

वायु ऊर्जामा लगानी बढाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा वायु ऊर्जा उत्पादनमा लगानी प्रोत्साहन गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९ औँ वार्षिकोत्सव समारोहमा मन्त्री घिसिङले वैकल्पिक ऊर्जामा रहेका सम्भावनालाई पनि उपयोगमा ल्याउन वायु ऊर्जामा लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको हो । 

उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आबद्ध गर्ने र यसको भण्डारणलाई पनि प्रवर्धन गर्न सरकारको नीति रहेको बताउनुभयो । 

घिसिङले मुलुकभित्र उत्पादित विद्युत् देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गर्नुभयो । “हाम्रो प्राथमिकता विद्युत् देशभित्रै खपत बढाउने हो,” उहाँले भन्नुभयो, “यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापनालगायतका काम गरी विद्युत् माग वृद्धि गर्न सकिन्छ ।” सरकारले ऊर्जा दक्षता, ऊर्जा रूपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएको जानकारी उहाँले दिनुभयो । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र दुर्गम क्षेत्रको विद्युतीकरणमा केन्द्रको ठुलो योगदान रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले हालसम्म देशभर करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पु¥याएको जानकारी गराउनुभयो । 

कुल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब ८.५ प्रतिशत रहेको र विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ) को क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको बताउँदै नवीकरणीय ऊर्जाका क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेको र तिनबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको बताउनुभयो ।

वार्षिकोत्सवमा सार्वजनिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४९२ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना, चार हजार १४२ घरेलु सौर्य प्रणाली, ३७८ किलोवाट पिक सौर्य मिनिग्रिड आयोजना, १२ हजार ६८६ सौर्य रुफटप प्रणाली सम्पन्न भएका छन् । 

त्यस्तै १०७ मठमन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान, ५८९ सौर्य खानेपानी तथा सिँचाइ परियोजना, चार हजार ३८६ घरायसी बायोग्यास प्लान्ट र नौ वटा ठुला क्षमताका बायोग्यास परियोजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।