रामकृष्ण बोहरा
बागलुङ, कात्तिक १७ गते । मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड वर्षौदेखि अलपत्र छ । सडक नबन्दा हिउँदमा धुलोले हैरानी, वर्षातमा हिलोले सास्ती खेपिरहेका स्थानीयले धैर्यताको बाँध फुटाउनुभएको छ ।
उहाँहरुले तत्काल काम थालिएन भने आउने मङ्सिर १ गतेदेखि सडक ठप्प पार्ने चेतावनी दिनुभएको छ । यसअघि आन्दोलन गर्नुभएका बिहुँबासीले सडक बन्ने आश्वासन पाएपछि फिर्ता हुनुभएको थियो । आइतबार बिहान ११ बजे नै काठेखोला गाउँपालिका वडा नं. ५ र ६ का बासिन्दाले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर यो चेतावनी दिनुभएको हो ।
लोकमार्ग आयोजना कार्यालयका इन्जिनियरको उपस्थितिमा सडक सञ्चालन गर्न वार्ता गर्ने उद्देश्यले आउनुभएका स्थानीय लोकमार्गको प्रतिनिधि नआएपछि झनै आक्रोसित हुनुभएको थियो । उहाँहरुले तत्काल सडकमा काम थालिएन भने आन्दोलन गर्ने, सडकनै ठप्प पार्ने चेतावनी दिनुभएको छ ।
‘‘हामीले धेरै धैर्यता गरिरहेका थियौं, आजित भैसक्यौ, अब सडक निर्माणको काम थालिएन भने मङ्सिर १ गतेदेखि सडक अवरुद्ध गरेर धर्ना बस्छौं’’ स्थानीय कृष्ण कंडेलले भन्नुभयो, ‘‘यो अनुरोधलाई वेवास्ता गरियो भने अप्रिय निर्णय लिन पनि बाध्य हुनेछौं ।’’
२०६८ सालदेखि थालिएको लोकमार्ग आयोजनाको काम पटक पटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्नुभएको छ । काठेखोला गाउँपालिका वडा नं. १, २, ५ र ६ का घर, खेती र फलफूल समेत धुलोले पुरिन्छन् । किसानले डाले घाँस समेत पशु चौपायालाई खुवाउन नपाएको गुनासो गर्नुभएको छ ।
सडक अलपत्र परेपछि ठेकेदारलाई कालोसूचिमा राखेर नयाँ ठेक्का खुलाएको पनि डेढ वर्ष पुग्न लाग्दा अझै काम अगाडि नबढेको काठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष वृहस्पति कंडेलले बताउनुभयो । ‘‘पहिलोले गरेन, दोस्रोलाई के कारणले काममा लगाउन सकिएन ?’’ उहाँले भन्नुभयो, ‘‘यसमा आयोजना कार्यालय पनि कतै मिलेमतोमा लागेको छैन ?’’
मध्यपहाडी लोकमार्ग बागलुङभित्र एक सय ४२ किमी दुरी छ । त्यो मध्ये अन्य खण्ड कालोपत्रे भइसकेको छ । बागलुङको अधिकांश र रुकुम जाजरकोटतर्फ कालोपत्रे भइसकेकोले पछिल्लो तीनचार वर्षदेखि डोल्पा, दैलेख, जाजरकोट र रुकुमबाट काठमाडौँका लागि नियमित बस सेवा समेत यो खण्डबाट सञ्चालन भइरहेको छ ।
लामो यात्रा गर्नेले पनि बागलुङको २५ किमी खण्डमा मात्र सास्ती खेपेको गुनासो गर्दै आएका छन् । बिहुँको माथिल्लो खण्डमा सूर्यं क्नस्ट्रक्सन कम्पनीले ठेक्का लिएको थियो । २०७२ माघ १० को ठेक्काको कामबाट नौ वर्षमा ५५ प्रतिशत प्रगती देखाउन नसकेपछि कालोसूचीमा परेर रद्द भई गतवर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो । २०८१ असारमा सम्झौता गरी २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा कामै नथालेपछि स्थानीय आक्रोसित हुनुहुन्छ ।
सोही सडकको अर्को खण्ड ठेक्का लिएको सिद्दिसाई भारत जेभीले पनि काम नगरेपछि स्थानीय राजु गौतमले पेटी ठेक्का लिएकोमा भुक्तानीमा समस्या भएपछि काम रोक्नुभएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका ईन्जिनियर ऋषि गौतमले ठेकेदारलाई काम लगाउन पहल भइरहेको बताउनुभयो । एक साताभित्र ठेकेदारलाई काममा ल्याउने पहल भएको उहाँको दाबी थियो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले स्थानीयको आक्रोसलाई सम्बोधन गर्न पहल भएको, एक साताभित्रै काममा आउने प्रतिवद्धता जनाएको बताउनुभयो । ‘‘नआएमा कारबाही प्रक्रियालाई पनि अगाडि बढाइने छ’’ उहाँले भन्नुभयो ।