• १७ कात्तिक २०८२, सोमबार

रगत अभावले विरामी मर्कामा

blog

रगत अभाव पूर्ति गर्न माग गर्दै ज्ञापनपत्र बुझाउँदै ।

सन्तोषी रावल

बाजुरा, कात्तिक १६ गते । बाजुरा जिल्लामा रगतको लगातार अभावका कारण गर्भवती महिला, दुर्घटनाका घाइते र आकस्मिक बिरामीहरू मर्कामा परेका छन् । 

रगत अभावप्रति ध्यानाकर्षण गराउँदै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, जिल्ला समिति बाजुराले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको निष्क्रियता र गैरजिम्मेवार व्यवहारप्रति कडा आपत्ति जनाइएको छ । युवा संगठनहरूले रगत नपाएर बिरामीले ज्यान गुमाउनुपरेका घटनाले जिल्लावासीलाई समस्या भएको बताएका छन् । 

उनीहरूले रेडक्रस शाखामा दलगत स्वार्थ र व्यक्तिगत प्रभाव हावी भएको आरोप लगाउँदै भनेका छन्, “रगत संकलन केन्द्र सञ्चालनमा नआउनु र कार्यालयहरू निष्क्रिय रहनु नागरिकमाथिको प्रत्यक्ष अन्याय हो ।”

ज्ञापनपत्रमा प्रशासनले तुरुन्त सर्वपक्षीय छलफल आयोजना गरी जिल्ला अस्पताल, रेडक्रस, स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबिच स्थायी समाधान खोज्नुपर्ने, नियमित रगत संकलन तथा वितरण प्रणाली तत्काल पुनः सञ्चालन गर्नुपर्ने माग गरेका छन् । 

अनेरास्ववियुका जिल्ला सचिव लक्ष्मण रोकाया र राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष विष्णुबहादुर कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले तत्कालीन समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।