• १७ कात्तिक २०८२, सोमबार

विद्युत लाइन काटिएपछि मजदुरको धर्ना

blog

नेपाल विद्युत प्राधिकरण घोराही शाखाको गेटमा विरोध प्रदर्शन गर्दै सिमेन्ट उद्योगका मजदुर । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक १६ गते । नेपाल विद्युत प्राधिकरणले दाङको दुई सिमेन्ट उद्योगको विद्युत लाइन काटेपछि मजदुर र कर्मचारी विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका कर्मचारी र मजदुरले आइतवार नेपाल विद्युत प्राधिकरण घोराही शाखामा एक घण्टा धर्ना दिएका छन् ।   

रोजगारदाता र विद्युत प्राधिकरणको विवादमा मजदुरको रोजगारी खोस्न नहुने भन्दै घोराही र सोनापुर सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले विद्युत प्राधिकरण घोराही कार्यालयको गेटमा बिहान १०ः३० बजेदेखि ११ः३० सम्म धर्ना दिएका हुन् । उद्योगले विद्युत महसुल तिर्नुपर्ने भए पनि लाइन काटेर मजदुरलाई समस्यामा पार्न नहुने भन्दै मजदुरले नारा लगाउँदै धर्ना दिएका थिए ।  

नेपाल विद्युत प्राधिकरण घोराही शाखा इन्जिनियर नन्दलाल शर्माका अनुसार घोराही सिमेन्ट उद्योगले ५० करोड ८५ लाख ३५ हजार ३४२ रुपियाँ र सोनापुर सिमेन्ट उद्योगले २४ करोड २९ लाख ९९ हजार २७४ रुपियाँ विद्युत बक्यौता तिर्न बाँकी रहेको छ । विद्युत प्राधिकरण र उद्योगी, व्यवसायीबिच डेडिकेटेड र ट्रङ्क लाइन महसुलमा विवाद हुँदैआएको छ ।

डेडिकेटेडअन्तर्गत घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले २०७२ साल माघदेखि २०७५ साल बैशाखसम्म प्रयोग गरेको विद्युत महसुल रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । लामो समयदेखि उद्योगले विद्युत महसुल नतिरेपछि नेपाल सरकारको निर्देशनमा नेपाल विद्युत प्राविधिकरण घोराही शाखाले घोराही सिमेन्ट उद्योगको लाइन कात्तिक ४ गते र सोनापुर सिमेन्ट उद्योगको लाइन कात्तिक ७ गते काटेको थियो । 

उद्योग बन्द हुँदा घोराही सिमेन्ट उद्योगमा कार्यरत छसय  र सोनापुर सिमेन्ट उद्योगमा कार्यरत पाँचसय ३४ जना मजदुर र कर्मचारी प्रत्यक्ष मारमा परेको घोराही सिमेन्ट उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बक्यौता रकम तिर्न तयार भए पनि तिनुपर्ने कारण स्पष्ट पार्नुपर्ने बताउनुभयो । 

सोनापुर सिमेन्ट उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट र घोराही सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिक टन क्लिङ्कर र आवश्यकताअनुसार सिमेन्ट उत्पादन गर्दैआएको थियो । घोराही सिमेन्टको दैनिक ८५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको छ ।