• १७ कात्तिक २०८२, सोमबार

वायु सेवा निगमका बेथिति

‘नातावाद, कृपावाद र विभेद अन्त्य गर्न तयार हुनुस्’ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री सुशीला कार्की नेपाल वायु सेवा निगमको सञ्चालक समितिको बैठकमा । तस्बिर : केशव थापा\प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक १६ गते। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) भित्रका बेथिति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ।

पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा निगमको सञ्चालक समिति र उच्च व्यवस्थापन टोलीलाई बोलाएर पहुँचका आधारमा नियुक्त गरिएका करारकर्मीहरूलाई तत्काल हटाउन निर्देशन दिनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेन–जेडहरूले यत्रो रगत बगाएको केका लागि हो ? नातावाद, कृपावाद र विभेद अन्त्यका लागि होइन ? एकातिर आन्दोलन भइरहेको छ, अर्कोतिर आफ्ना मान्छे भटाभट भर्ती गर्ने ? यो असह्य बेथिति हो।”

‘गौरवमय संस्था दर्दनाक अवस्थामा’

कुनै समय गौरव गर्नलायक बनेको वायु सेवा निगम अहिले दर्दनाक अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले कसैको मुख नहेरी सुधारका लागि कठोर कदम चाल्न निर्देशन दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “संस्था सुधार्न अब अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ। निगम सुधारका सबै प्रतिवेदनका सुझाव कार्यान्वयन गरी योजना अनुसार अघि बढ्नुपर्छ।”

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगममा हालसम्म १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानी रहेको जानकारी प्रस्तुत गर्नुभएको थियो।

‘धनाढ्यको बिग्रिएको घरजस्तो अवस्था’

प्रधानमन्त्री कार्कीले वायु सेवा निगमको अवस्थालाई “धनाढ्यको बिग्रिएको घर” सँग तुलना गर्दै भन्नुभयो, “हेर्दा सबथोक भएको जस्तो देखिन्छ, तर भित्र दर्दनाक अवस्था छ। घाटा वा नाफा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर सन्तोष मानिन्थ्यो, तर त्यो पनि छैन।”

उहाँले राजनीतिक हस्तक्षेप र अनुचित दबाब नमानेर नियमसंगत ढङ्गले काम गर्न पनि निर्देशन दिनुभयो। “राजनीतिक मान्छेहरूले दबाब दिन सक्छन् तर तपाईँहरू विधिअनुसार चल्नुभयो भने कसैले कारबाही गर्न सक्दैन,” उहाँको भनाइ थियो, “अख्तियारलाई बहाना बनाएर निष्क्रिय नबस्नुस्, राम्रो काम गर्दा डराउनुपर्ने छैन।”

‘जनताको घाटा जनतामाथि नै’

प्रधानमन्त्री कार्कीले निगमका इन्जिन मर्मत र खर्च व्यवस्थापनमा देखिएका अनियमिततामाथि पनि प्रश्न उठाउँदै भन्नुभयो, “आफ्नै जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च देखाउने प्रवृत्ति अस्वीकार्य छ। यो घाटा त अन्ततः जनताले नै बेहोर्नुपर्छ।”

‘सरकारको साथ सुधारका लागि’

निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा सरकारी निगम घाटामा जानु दुरुपयोग र अक्षमताको परिणाम भएको प्रधानमन्त्रीको भनाइ थियो।

“सरकारले स्रोतसाधन र साथ दिएको छ। तैपनि यो संस्था घाटामा छ— बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए देशले फाइदा पाउँथ्यो,” उहाँले भन्नुभयो।

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउँदै भन्नुभयाे, “निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ। अप्रिय निर्णय गर्न पनि म तयार छु। सरकारको साथको अपेक्षा गर्छु।”

प्रधानमन्त्री कार्कीले निष्कर्षमा भन्नुभयाे, “संस्था सुधारका लागि दृढतापूर्वक लाग्नुस् — सरकार तपाईँहरूको दाहिने हातमा छ।”

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायतका अधिकारीहरूको उपस्थिति थियो।