• १७ कात्तिक २०८२, सोमबार

बाँके र बर्दियामा ८० प्रतिशत धान भित्र्याइयो

blog

बाँकेमा काट्न बाँकी रहेको मसिनो धान काट्दै किसान । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १६ गते । बाँके र बर्दिया जिल्लाका किसानहरुले हालसम्म ८० प्रतिशतभन्दा बढी धानबाली काटेर भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले जिल्लाका आठ वटै पालिकामा किसानले ८० प्रतिशत भन्दा बढी धानबाली काटेर धान भित्र्याएको बताउनुभयो । 

उहाँले जिल्लाका किसानहरुले मोटो धान करिब करिब शतप्रतिशत भित्र्याइसकेको पाइएको जनाउँदै मध्यम र मसिनो धान पनि ८० प्रतिशतजति भित्र्याइसकेको र २० प्रतिशत मात्र भित्र्याउन बाँकी रहेको बताउनुभयो । 

नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले पालिकामा ८० प्रतिशत भन्दा बढी धान भित्र्याइसकेको र वर्षा पनि धेरै नभएकोले क्षति नभएको बताउनुभयो । सोही प्रकारले राप्ती सोनारी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक चन्द्राकुमारी शाहीले पनि वर्षाले गर्दा धेरै क्षति भएको जानकारी नआएको बताउनुभयो । 

डुडुवा गाउँपालिकाका कृषि प्राविधिक सहायक हनुमान यादवले पनि ८० प्रतिशत धान भित्र्याइसकेको र होचो जमिनमा लगाइएको मसिनो जातका धान पाक्न बाँकी रहेकोले क्षति हुन नपाएको बताउनुभएको छ । किसानहरु धान काटेर भित्र्याउन व्यस्त रहेकै बेला दुई तीन दिन मौसम खराब भएर हल्का वर्षा समेत भएकोले धानबाली काट्ने कार्य प्रभावित भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत बस्नेतले बताउनुभयो । 

तर जिल्लामा वर्षा सामान्य भएको र अधिकांश धान किसानले भित्र्याइसकेको हुँदा यस पटक धानबालीमा बर्षाले क्षति नभएको आठ वटै पालिकाबाट जानकारी आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लामा यस वर्ष भएको धान उत्पादनबारे आठवटै पालिकाका कृषि शाखाहरुबाट तथ्यांक माग गरिएको छ । सो तथ्यांक प्राप्त भएपछि तथ्याङ्क सार्वजनिक गरिने छ । 

उता, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बर्दियामा पनि ८० देखि ८५ प्रतिशतभन्दा बढी धानबाली भित्र्याइसकिएको जानकारी गराउँदै वर्षाले धानबालीमा ठुलो क्षति गरेको जानकारी नआएको बताउनुभएको छ । 

यद्धपि स्थानीय तहहरुबाट जानकारी लिने काम भइरहेको जनाउँदै उहाँले धेरै क्षति भएको जानकारी कुनै पालिकाबाट आएमा मात्रै क्षतिको विवरण संकलन गरिने बताउनुभयो । बंगालको खाडीमा विकसित मोन्था चक्रवात र पश्चिमी वायुको प्रभावका कारण बाँके र बर्दियामा गत दुईतीन दिन सामान्य वर्ष भएको थियो ।