• १६ कात्तिक २०८२, आइतबार

विश्राम गर्ने छहारी वरपीपलको रुख

blog

राजावास क्षेत्रको सप्तकोशीको तटबन्धमा रहेको वरपीपल चौतारो । तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, कार्तिक १६ गते । सुनसरीको राजावासस्थित बानडाँडामा रहेको वरपीपलको छहारीमा बालबालिकादेखि वृद्धसम्मको जमघट हुने स्थल बन्दैआएको छ । 

धार्मिक र वातावणीय दृष्टिकोणले समेत राम्रो मानिने वरपीपलको छहारीेमुनि गर्मीदेखि जाडोसम्म मानिसहरुको चहलपहल उत्तिकै हुने गरेको छ । वरपीपलको छहारी सामाजिक छलफलदेखि गाउँलेहरु जम्मा भएर कचहरी स्थलको रुपमा परिचित रहेको राजावासका स्थानीय ५७ वर्षीय लालबहादुर लिम्बू बताउनुहुन्छ । 

उहाँका अनुसार वरपीपल बानडाँडामा रहेको र शीतल ताप्नेदेखि बाटो हिंड्नेहरु समेत विश्राम गर्न बस्ने गरेको उहाँले बताउनुभयो । पहिला गाडी नकुद्दा हिंडेर यात्रा गर्ने यात्रीहरु वरपीपल चौतारोमा आराम गर्न बस्ने गर्थे । अहिले पनि वरपीपल चौतारामा मानिसहरुको चहलपहल उत्तिकै छ । 

कोशी तटबन्धमा रहेको धेरै पुराना वरपीपल यस भेग‌को अभिभावकीय वृक्ष भएको स्थानीय पदम नेपाली बताउनुहुन्छ । सामाजिक छलफल होस्, कुनै तनाव हुँदा होस् वा असाध्य गर्मी भएको बेला होस्, वरिपरिका मानिस यही वरपीपलको छहारीमा आउने गरेको उहाँले सुनाउनुभयो । 

उहाँ भन्नुहुन्छ, “बिहानदेखि राति अबेरसम्म वरपीपलको छहारीमा बालबालिकादेखि वृद्धवृ‌द्धासम्म रमाइरहेका हुन्छन् । गर्मीको बेला त अधिकांश स्थानीयको शीतल ताप्ने र समय काट्ने थलो नै बनेको छ वरपीपल चौतारी ।” 

बुढा वरपीललको रुखसँगै छहारीमा रहेको काठे चौतारौ र पक्की चौतारोमा बसेर सप्तकोशी नदीको चिसो हावा खाँदै गफिनुको मजा नै बेग्लै हुने स्थानीय लालबहादुर बताउनुहुन्छ । 

पहिलो श्रीलङ्काटापुबाट डुङ्गा तरेर वारिपारि गर्नेहरुको जक्सन नै रहेको राजावासको वरपीपल चौतारी अहिले पनि उत्तिकै जमघट हुने थलो बनेको छ । चौतारो नजिक रहेको शिव मन्दिर, हनुमान मन्दिरले वृद्धहरुलाई थप आकर्षित गरेको छ । 

वरपीपलले शीतल मात्रै ताप्न दिएको छैन शुद्ध अक्सिजनसमेत दिने हुँदा सबैको आकर्षण रहेको छ । ग्रामीण क्षेत्रमा वरपीपल रोपेर विवाह गर्ने चलन पहिला धेरै हुँदा वरपीपल चोक र सार्वजनिक स्थलहरुमा धेरै रोपिन्थ्यो । स्थानीय भीम कार्कीले भन्नुभयो । पछिल्लो समय वरपीपल रोप्ने चल्न कम हुँदैजादा र सडक विस्तार हुँदा पुराना र ठुला वरपीपलहरु मासिँदैगएका छन् ।