• १६ कात्तिक २०८२, आइतबार

काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा साइटको अवलोकन गर्नुहुँदै । तस्बिर : मन्त्री घिसिङको सचिवालय

काठमाडौं, कात्तिक १६ गते । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ। स्थानीयको अवरोध हटेसँगै सडकमै अलपत्र परेका फोहोर बोकेका गाडी ल्याण्डफिल साइटतर्फ गएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो।

मन्त्री घिसिङ आइतबार बिहान शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली लिएर बञ्चरेडाँडा पुग्नुभएकाे थियाे । 

टोलीले स्थलगत निरीक्षणका क्रममा धादिङको धुनिबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, प्रभावित वडाध्यक्ष र स्थानीयवासीसँग अन्तर्क्रिया गरेको थियो।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै १५ दिनको समय माग गर्नुभयाे ।

मन्त्री घिसिङले स्थानीयसँग आग्रह गर्नुभयाे, “म आश्वासन दिन आएको होइन, कार्यान्वयन गर्न आएको हुँ। अवरोध हटाएर सकारात्मक सन्देश दिनुहोस्। वार्ता र संवादमार्फत सौहार्दपूर्ण समाधान खोजिन्छ। ” 

उहाँले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना अघि बढाइने उल्लेख गर्दै तत्काल गर्न सकिने कामहरू सुरु गर्न निर्देशन दिनुभयाे।

लिच्चड र अनुगमन समितिको व्यवस्था

स्थानीयको प्रमुख गुनासो लिच्चड (फोहोरबाट निस्कने फोहोरपानी) व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति गठन गरिने भएको छ। पोखरीमा जम्मा भएको लिच्चड खोलामा नपुगोस् भनेर तत्काल पम्प सञ्चालन गर्ने तयारी भएको छ।

त्यसैगरी, ल्याण्डफिल साइटमा जथाभावी फोहोर फालिएको समस्या समाधान गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका प्रतिनिधि सम्मिलित अनुगमन समिति पनि बनाइने भएको छ।

रात्रीकालीन व्यवस्थापन र बत्तीको व्यवस्था

रातको समयमा फोहोर व्यवस्थापन सहज बनाउन ल्याण्डफिल साइटमा बत्ती जडान सुरु गरिने मन्त्री घिसिङले जानकारी दिनुभयाे। उहाँका अनुसार सोमबारदेखि नै बत्ती राख्ने काम सुरु हुनेछ।

वैज्ञानिक फोहोर व्यवस्थापनतर्फ कदम

वैज्ञानिक फोहोर व्यवस्थापनका लागि फोहोर छुट्याउने स्थान पहिचान गरी स्थानीय तहलाई आवश्यक सार्वजनिक जग्गा उपलब्ध गराउन मन्त्रिपरिषदबाट निर्णय लिइने मन्त्री घिसिङले बताउनुभयाे । 

बञ्चरेडाँडा साइटको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने भएकाले स्थानीयलाई सहयोग गर्न आग्रह गरिएको छ। “इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुन्छ, त्यसअनुसार जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइनेछ,” मन्त्री घिसिङको भनाइ छ।

दीर्घकालीन समाधानतर्फ

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि लगानी बोर्डमार्फत अघि बढाइएको प्रक्रिया कानुनी अड्चनका कारण रोकिएको छ। उक्त समस्या समाधानका लागि काठमाडौं उपत्यकाका मेयरहरूको फोरमसमेत समावेश गरी अघि बढाइने मन्त्री घिसिङले बताउनुभयाे । 

स्थानीयको माग

धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र स्थानीय सरोकारवालाले विगतका सहमति कार्यान्वयन नभएकाले समस्या दोहोरिएको गुनासाे छ । फोहोर व्यवस्थापन दीर्घकालीन कार्ययोजनासहित गर्नुपर्छ। फोहोर फाल्ने स्थान र जनसमुदायबीच छुट्याइने स्पष्ट नीति आवश्यक छ।

पाँच दिनपछि गाडी सञ्चालन

अवरोधका कारण विगत पाँच दिनदेखि साइटमा पुग्न नसकेका फोहोर बोकेका गाडी सहमति जुटेसँगै पुनः सञ्चालनमा आएका छन्।

शहरी विकास मन्त्रालयका अनुसार मन्त्री घिसिङले स्थानीयसँग प्रत्यक्ष संवाद गरी विगतका सम्झौता कार्यान्वयन गर्ने आश्वासन दिएपछि फोहोर विसर्जन पुनः सुरु भएको हो।