गुणबहादुर रोका
सुलीकोट, कात्तिक १६ गते । उत्तरी गोरखाको मनास्लु पदमार्ग पुनः पदयात्रीको लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सूचना जारी गर्दे अनुकूल मौसम सुरु भएसँगै मनास्लु क्षेत्रका सबै पदमार्गमा आवतजावतमा अनुमति दिएको हो ।
विगत केही सातादेखि जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा लगातर परेको पानी र हिमपातले विपद् जोखिम बढ्ने भएकाले मनास्लु पदमार्गअन्तर्गत पदयात्रीहरुलाई पदयात्रा नगर्न सार्वजानिक सूचना जारी गरी पदमार्ग बन्द गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय निकाय, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गर्दै अहिले गोरखामा मौसम स्थिर हुँदै गएको र हिउँ तथा विपदका जोखिम घटेकाले पदयात्रा पुनः सञ्चालन गरिएको सूचनामा भनिएको छ ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो, ‘‘मनास्लु क्षेत्रमा हाल यात्रा गर्न उपयुक्त समय सुरु भएको छ । पदयात्रीले आवश्याक अनुमति पत्र लिएर मात्रा यात्रा गनुपर्छ ।’’ पदयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गाइड टोली तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
जल तथा मौसम विभागको प्रकाशित मौसमको पूर्वानुमान अनुसार मौसममा क्रमिक सुधार हुँदै गएकाले पदयात्रामा हिँड्नु हुने पदयात्रीलाई पथपर्दशको सहयोगमा पदमार्गको सूचना लिई सुरक्षित आवतजावत गर्न प्रशासनले सूचना निकालेर आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार पदमार्ग भत्केको अवस्थामा यात्रा नगर्ने, पदयात्रा गर्दा पर्याप्त सावधानी अपनाउने र मौसम प्रतिकूल हुनासाथ आवतजावत रोकी सुरक्षित स्थानमा बास बस्न सूचनामा भनिएको छ ।