• १६ कात्तिक २०८२, आइतबार

लालझाँडी गाउँपालिका स्वास्थ्य सूचकाङ्कमा प्रथम स्थान हासिल गर्न सफल

blog

प्रमाणपत्र प्रदान गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, कात्तिक १६ गते ।
स्थानीय तहहरूको स्वास्थ्य सूचकाङ्क मूल्याङ्कनको आधारमा यहाँको लालझाडी गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ । जिल्ला भित्र रहेका नौ वटा पालिकाको कार्यसम्पादन मूल्याङ्कनको आधारमा लालझाडी गाउँपालिकालाई उत्कृष्ट पालिका घोषणा गरिएको हो ।

आर्थिक वर्ष २०८१–०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको अवसरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका पालिकाहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

स्वास्थ्य सूचकाङ्कको आधारमा गरिएको मूल्याङ्कनका क्रममा लालझाडी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएपछि प्रमाण पत्र प्रदान गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरेन्द्र सिंह रावलले बताउनुभयो ।

यसैगरी, बेलडाँडी गाउँपालिका द्वितीय स्थान हासिल गर्न सफल भएको छ भने बेदकोट नगरपालिका तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

विभिन्न ३६ सूचकाङ्कको मूल्याङ्कलनका आधारमा लालझाँडी गाउँपालिकाले ९१ अङ्क प्राप्त गरेको थियो । यसैगरी, बेलडाँडी गाउँपालिकाले ८३.५ अङ्क र बेदकोट नगरपालिकाले ८२ अङ्क प्राप्त गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मूल्याङ्कनबाट उत्कृष्ट पालिका घोषणा गरिएको हो ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले स्वास्थ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले स्वास्थ्य क्षेत्रका सबै सूचक पूरा गर्नका लागि सबै निकाय जिम्मेवार पूर्ण भएर लाग्नुपर्ने  बताउनुभयो । उत्कृष्ट पालिकालाई बधाई ज्ञापन गर्दै उहाँले अन्य पालिकाहरूले पनि सबै स्वास्थ्य सूचक पुरा गरी सधैँ, सबै उत्कृष्ट पालिका हुनुपर्ने बताउनुभयो । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल पालिकाहरूलाई उहाँले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका निमित्त निर्देशक डा.खगेन्द्र बमले पालिकाहरूले तोकिएको सूचकाङ्क पूरा गर्न कुनै पनि कसर बाँकी राख्न नहुने बताउनुभयो । कार्यशाला समापन कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्र सिंह रावलले सबैको साथ र सहयोगबाट नै स्वास्थ्य क्षेत्रका हरेक सूचकाङ्क पूरा गर्न सकिने बताउनुभयो ।

प्रथम स्थान हासिल गर्न सफल लालझाडी गाउँपालिकाले यस उल्लेखनीय सफलता प्राप्त गर्न सहयोग पुर्याउने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ । गाउँपालिकाले आगामी वर्षमा पनि दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अझ प्रभावकारी ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।