• १६ कात्तिक २०८२, आइतबार

स्वास्थ्य संस्थामा सुत्केरी गराउने घट्दै

blog

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), कात्तिक १६ गते । दार्चुलामा संस्थागत सुत्केरी हुनेको सङ्ख्या घटेको पाइएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ९० प्रतिशत पु¥याउने लक्ष्य राखेको भए पनि यहाँ भने घटेको पाइएको हो । एक वर्षमा अनुमानित गर्भवती महिला दुई हजार ७०९ जनामध्ये आधा महिलाले असुरक्षित किसिमले घरमै बच्चा जन्माउने गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दार्चुलाका नौ वटा स्थानीय तहका विभिन्न स्थानमा गरी ५१ वटा सुरक्षित प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा रहेका छन् तर धेरै जसो महिलाले घरमै बच्चा जन्माउने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिनुभयो । “बर्थिङ सेन्टरबाट बस्ती टाढा हुनु र जनचेतनाको अभावले गर्दा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा केही कमी आएको हो,” उहाँले भन्नुभयो । आमाहरूले असुरक्षित किसिमले घरमै बच्चा जन्माएका कारण नवजात शिशुको मृत्युदरसमेत बढ्ने गरेको उहाँले बताउनुभयो । दार्चुला जिल्लामा वार्षिक १८ देखि २० जना नवशिशुको मृत्यु हुने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७९/८० मा ७७.९ प्रतिशत संस्थागत सुत्केरीको सङ्ख्या रहेकोमा आव २०८०/८१ मा घटेर ६५.२ प्रतिशत र २०८१/८२ मा ७३ प्रतिशत पुगेको छ । 

जिल्लाको व्यास गाउँपालिका, दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा संस्थागत सुत्केरी हुनेको सङ्ख्या घट्दै गएको छ भने बाँकी छ स्थानीय तहमा संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको छ । संस्थागत सुत्केरीको सङ्ख्या बढाउनका लागि विकट बस्तीनजिकमा बर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जोड दिनुभएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई सरकारले प्रोत्साहन भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।