• १६ कात्तिक २०८२, आइतबार

पाँचथरका मुख्य तीन सडक अवरुद्ध

blog

फेमे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको फिदिम फालौट सडक । तस्बिर : गोरखापत्र

राधा लुइटेल
फिदिम, कात्तिक १६ गते ।
कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण आएको बाढीपहिरोले पाँचथरका मुख्य तीनवटा सडक अवरोध भएको छ ।

निरन्तर पानी परिरहेकाले सडक अवरोध हटाउन कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका तमोर करिडोरसँगै फिदिम फालौट र राँके –रवि –भेडेटार खण्ड तीन दिनदेखि बन्द छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णका अनुसार फिदिम फालौट खण्डको फिदिम ११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलासँगै र राके रवि भेडेटार खण्ड मिक्लाजुङ क्षेत्रमा अवरोध कायम छ ।

मिक्लाजुङमा गएको पहिरोले राँके रवि भेडेटार खण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको हो । यस्तै, नावा खोलामा आको बाढीका कारण तमोर करिडोरमा शुक्रबार बिहानैदेखि यातायात ठप्प छ ।

यता फेमे खोलामा बाढी आएर पहुँच मार्ग र डाइभर्सनमा क्षति पुर्‍याउदा फिदिम फालौट सडक खण्ड पनि शुक्रबार देखिनै ठप्प छ ।
प्रशासनले निरन्तरको झरीसँगै ठाउँठाउँमा पहिरोको जोखिम बढेको भन्दै तत्काल यात्रा तय नगर्न स्थानीयलाई सुचित गरेको छ । यत्तिका सडक तीन दिनदेखि ठप्प हुँदा यात्रुहरु विचल्ली परिरहेका छन् ।