• १६ कात्तिक २०८२, आइतबार

भेरी–बबई आयोजनाको काम सुस्त, ‘आयोजना समस्याग्रस्त बन्नु भएन’

blog

सुर्खेत समाचारदाता

सुर्खेत, कात्तिक १६ गते । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम १० वर्षमा ५७ प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजनाको कामको गति सुस्त भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सो आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन सङ्घीय सरकारसँग आग्रह गर्नुभएको छ ।

सरकारले सो आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ का रूपमा राख्ने तयारी गरेको चर्चाबिच शुक्रबार आयोजना स्थल अनुगमन गर्दै उहाँले यही अवस्थामा कामको गति नबढ्ने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यप्रति चिन्ता भएको उल्लेख गर्नुभयो । समस्याग्रस्त आयोजना बन्न नदिन सङ्घीय सरकारले विशेष पहल लिनुपर्ने उहाँले जनाउनुभयो । उहाँले सो आयोजना सम्पन्न गर्नका लागि सङ्घीय सरकारको विशेष पहल आवश्यक भएकोसमेत बताउनुभयो । मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारको कार्यक्षेत्र रहे पनि प्रदेशको चासो र चिन्ता धेरै भएकाले उक्त राष्ट्रिय गौरवको आयोजना निर्माणको गतिलाई यही अवस्थामा छाड्न नहुने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “थपिएको समयमा पनि ५७ प्रतिशत मात्र काम भएको रहेछ, यही गतिले अर्को चार वर्षमा पनि सम्पन्न हुने छाँट देखिँदैन ।” मुख्मन्त्री कँडेलले राष्ट्रिय गौरवको भने पनि सङ्घीय सरकारले जति चासो लिनु पथ्र्यो, त्यो मात्रामा नभएको टिप्पणी गर्नुभयो । 

मुख्यमन्त्री कँडेलले आयोजनाको अहिलेको कार्यप्रगति हेरेर समस्याग्रस्त आयोजनाका रूपमा राख्ने तयारीभन्दा कामको गति बढाउने गरी विशेष योजना निर्माण गर्न सङ्घीय सरकारले पहल लिनुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा चाँडै नै सङ्घीय सरकारको ध्यानाकर्षण गराइने पनि उल्लेख गर्नुभयो । भेरी–बबई आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्यप्रगति अपेक्षाभन्दा कमजोर रहेकाले थपिएको समयमा काम सम्पन्न हुन नसक्ने जानकारी दिनुभयो । उहाँले आयोजनाका सन्दर्भमा आफूहरूको अधिकार सीमित रहेकाले माथिल्लो निकायबाट यस सम्बन्धमा विशेष पहल हुनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७१/७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र प्रगति हालसम्म करिब ५७ प्रतिशत मात्रै पुगेको छ । २०८२ चैतसम्म काम सम्पन्न गर्ने अवधि तोकिएको सो आयोजनाका लागि अब करिब साढे पाँच महिना मात्र बाँकी रहेको छ । 

हाल आयोजनामा १० जना उच्च तहका प्राविधिकको पद रिक्त रहँदा कामको गति प्रभावित पारेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेमा अवस्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा ल्याउने योजना रहेको छ । यसबाट ४६.६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ ।