• १६ कात्तिक २०८२, आइतबार

बेमौसमी वर्षाको प्रभाव : लुम्बिनीमा १५ हजार ७५५ हेक्टर धानबालीमा क्षति

blog

बेमौसमी वर्षाले धानबालीमा भएको क्षति । फाइल तस्बिर

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक १६ गते । 
पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् ।  वर्षाले खेतमा काटेर सुकाइएको धानबालीमा व्यापक क्षति पुगेको छ । यसले प्रदेशको समग्र धान उत्पादन र किसानको अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको छ ।

तथ्याङ्कमा धानबालीमा क्षति
लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीका अनुसार, बेमौसमी वर्षाले प्रदेशको विभिन्न जिल्लामा करिब १५ हजार ७ सय ५५ हेक्टर क्षेत्रफल धानबालीमा  क्षति पुर्‍याएको छ ।

“बेमौसमी वर्षाले लुम्बिनी प्रदेशको धानबालीमा अत्यन्तै ठुलो क्षति पुर्‍याएको छ । किसानहरूले काटेर खेतमै सुकाएका धान पानीमा डुबेर नष्ट भएका छन् भने नकाटिएका धानको बालामा पनि पानी जम्दा ‘अङ्कुरण’ (टुसा) पलाउने जोखिम बढेको छ ।’’

पाकेको धान काटेर घरमा भित्र्याउने तयारीमा रहेका किसान बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् । बेमौसमी वर्षाले खेतमा काटेर सुकाइएको धान भिजेको र काट्न बाँकी धानमा समेत क्षति पुगेको छ । यसले किसानको वर्षभरिको मेहनत खेर जाने चिन्ता बढाएको छ ।

काटेर खेतमा सुकाएका धानका मुठा वर्षाको पानीमा डुबेका छन् । भिजेको धानलाई तत्काल घाममा सुकाउन नपाए बालामै टुसा (अङ्कुर) पलाउने र धान काम नलाग्ने हुने जोखिम बढेको छ । किसानहरूले वर्षभरिको मिहेनत खेतमै नष्ट भएको भन्दै सरकारले उचित राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

बेमौसमी वर्षाका कारण विशेषगरी काटेर खेतमै सुकाइएको धानमा ठुलो क्षति पुगेको छ । पानीले धान भिजेपछि बालामै टुसा आउने (अङ्कुरण हुने) सम्भावना बढेको छ, जसले गर्दा धानको गुणस्तर र उत्पादनमा भारी गिरावट आउने निश्चित छ ।

कृषि ज्ञान केन्द्रले किसानहरूलाई सकेसम्म छिटो पानी निकासको व्यवस्था मिलाउन र घाम लाग्ने वित्तिकै धानलाई राम्रोसँग सुकाएर भित्रयाउन आग्रह गरेको छ ।

मुख्य बाली धानमा क्षति पुगेपछि किसानहरूमा निराशा छाएको छ । लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका  अनुसार, प्रदेशका विभिन्न जिल्ला यो वर्ष करिब कुल तीन लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।