नेपाल ऊर्जा स्रोतमा धनी देशको रूपमा चिनिन्छ । जलविद्युत्, सौर्य, हावाजन्य, बायोग्यास, बायोमास, भूतापीय जस्ता नवीकरणीय स्रोतहरू नेपालमा स्वाभाविक रूपमा उपलब्ध छन् । उर्जा उत्पादन र उपयोगमा नेपालका नीतिहरू विगत लामो समयसम्म जलविद्युत्मा मात्र केन्द्रित रहेकाले ऊर्जाका स्रोतको प्रयोगमा सम्भावना भए पनि मिश्रित ऊर्जाका रूपमा यसको सदुपयोगमा कमी आएको छ । यद्यपि यसले विद्युतीकरणमा केही उपलब्धि दिलाए पनि ग्रामीण जीवनशैली, बसाइँसराइ, भौगोलिक कठिनाइ र लागत व्यवस्थापनमा ठुलो चुनौती सामना गर्नु परेको छ । पछिल्लो समय मिश्रित ऊर्जा प्रणालीको अवधारणाले ती चुनौती समाधान हुने सम्भावना बढाएको छ । बिस्तारै मिश्रित ऊर्जा प्रणालीतर्फ धेरैलाई ध्यानाकर्षण गराएको छ । जसले भविष्यमा मिश्रित ऊर्जा प्रणालीको आवश्यकता र औचित्य साबित गर्न सक्ने छ ।
एकमुखी प्राथमिकता
नेपालको ऊर्जा नीतिमा जलविद्युत् नै मुख्य स्रोत मानियो । नदीनाला प्रशस्त भएका कारण यस्तो सोच आउनुलाई अस्वाभाविक मान्न सकिँदैन । परिणामस्वरूप जलविद्युत् उत्पादन, सबस्टेसन, विद्युत् प्रसारण लाइनमा ठुलो सरकारी तथा निजी लगानी भयो । तीन प्रमुख समस्याले यस रणनीतिलाई चुनौती दियोः पहिलो गाउँबाट सहरतर्फ बसाइँसराइ वृद्धि हँुदै जानु, दोस्रो पहाडी भौगोलिक क्षेत्रका संरचना निर्माणको लागत बढी हुनु र तेस्रो विद्युत् प्रसारणमा वनजङ्गलका कारण ठुलो नोक्सानी तथा कठिनाइ हुनु । यस्तो अवस्थामा कैयौँ स्थानमा पोल तानियो, ट्रान्सफर्मर जडान भयो । बसाइँसराइँका कारण ती गाउँ खाली भइसके, संरचना प्रयोगविहीन भयो, लगानी डुब्यो । हामीले नीति निर्माण गर्दा जलविद्युत् केन्द्रित मात्र नभई मिश्रित ऊर्जातर्फ मोड्ने प्रकृतिका नीति निर्माण गर्न सकेको भए स्थानीय स्तरमा मिश्रित ऊर्जा प्रणालीको विकास हुने थियो । बढ्दो बसाइँसराइले आर्थिक रूपमा असर पर्ने थिएन ।
सौर्य ऊर्जा उपेक्षित
नेपालमा तीन सय दिनभन्दा बढी स्पष्ट घाम लाग्ने दिन हुन्छ । ग्रामीण विद्युतीकरणमा सौर्य ऊर्जा उपकरणलाई नीति स्तरमै प्राथमिकता दिइएन । पहाडी विकट क्षेत्रहरूमा साना साना सौर्य पूर्वाधार राखिएको भए प्रसारण लाइन तान्नुपर्ने थिएन । स्थानान्तरण गर्न सरल र सहज हुन्थ्यो भने लागत धेरै घट्थ्यो, छिट्टै ऊर्जा उपलब्ध हुन्थ्यो, त्यसैले हामीले त्यो अवसर गुमायौँ । अझै पनि ग्रामीण क्षेत्रमा भोल्टेज सुधार प्रणाली सुदृढीकरण ससाना उद्योग स्थापना गर्न पर्ने अवस्था छ । सौर्य ऊर्जालई अधिकताम उपयोग गर्न सकेमा मिश्रित ऊर्जा प्रणालीमा प्रयोग गर्न सकिने छ ।
मिश्र्रित ऊर्जा प्रणाली
मिश्रित ऊर्जा भन्नाले विभिन्न स्रोतलाई एकसाथ प्रयोग गरेर ऊर्जा उत्पादन गर्ने संयन्त्र हो । जलविद्युत् र सौर्य, सौर्य ऊर्जा र वायु ऊर्जा, बायोग्यास र सौर्य ऊर्जा, माइक्रो हाइड्रो र बायोमास । यस्तो प्रणालीले एक ऊर्जा स्रोत कमजोर हुँदा अर्कोले भरपर्दो आपूर्तिलाई कायम राख्नुका साथै ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता बढी हुन सक्छ । बसाइँसराइ भए पनि यसलाई स्थानान्तरण गर्न सहज हुने छ । स्वच्छ ऊर्जाका कारण कार्बन उत्सर्जनमा कमी भई वातावरण सन्तुलन हुने थियो । ऊर्जा ग्रामीण विकासको मेरुदण्ड भएकाले स्थानीय रूपमा उद्योग स्थापना, उद्यमशीलता विकास, कृषि प्रवर्धन बढ्नुका साथै ऊर्जामा विश्वसनीयता बढेर जलवायु परिवर्तनमा समेत सकारात्मक प्रभाव पर्ने थियो । समग्रमा हुन सक्ने सम्भावित विकासलाई अधिकतम प्रयोगमा ल्याई ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा प्रणाली उपयुक्त प्रणाली हुन सक्छ ।
मिश्रित ऊर्जाको आवश्यकता
नेपाल पहाड, तराई, हिमाली क्षेत्रको असमान भौगोलिक संरचना भएको देश हो । एउटै स्रोत सबै स्थानमा उपयुक्त हुँदैन । हिमाली क्षेत्रमा हावाको शक्ति बलियो छ भने पहाडमा माइक्रो–हाइड्रो सम्भावना बढी छ भने तराईमा बायोमास तथा सौर्य ऊर्जा बढी उपयुक्त छ । त्यसैले ऊर्जा स्रोत पनि स्थान अनुसार भिन्न हुनु जरुरी छ । स्थान अनुसार उपयुक्त ऊर्जा उत्पादन छनोट गरी समग्र ऊर्जा विकासमा टेवा पु¥याउन सकिन्छ ।
बसाइँसराइ चुनौती
जब गाउँ खाली हुन्छ, प्रसारणमा लगानी निरर्थक बन्ने जोखिम बढ्छ । सहज रूपमा सार्न सकिने प्रणालीले यस्तो जोखिम घटाउँछ । बसाइँसराइ बढ्दो छ, ग्रामीण बस्ती खाली छ । बस्तीमा पुगेका विद्युत्का संरचना उपभोक्ता कुरेर ठडिएका छन् तर उपयोग गर्ने क्रम घट्दो छ । यस्तो अवस्थामा सौर्य प्रणाली, मिनी ग्रिड, विद्युतीय गृह उपकरण, जसलाई हामी स्थान परिवर्तन गरेर पनि ऊर्जा उपयोग गर्न सक्छौँ । त्यस्ता उपकरण युक्त प्रणाली बनाउन सकेको भए बसाइँसराइले पनि त्यति असर पर्ने थिएन । समयमा यस क्षेत्रका विज्ञ, परामर्शदाताको ध्यान मिश्रित ऊर्जामा पुग्न नसकेकै हो ।
मिश्रित ऊर्जाका लाभ
ऊर्जा आयातमा परनिर्भरता कम गर्न मिश्रित ऊर्जा महत्वपूर्ण छ । हामीले भविष्यमा ऊर्जा निर्यात गर्ने क्षमता पनि बढाउन सकिन्छ र हाम्रो ऊर्जाको अधिकतम उपयोग बढ्न सक्छ । यो ग्रामीण क्षेत्रमा उपयोग गर्न लाभकारी भएकाले यसको प्रणाली विकासमा हाम्रो ध्यान पुग्नै पर्छ । अर्थतन्त्र विकासका लागि मिश्रित ऊर्जा लाभदायी मानिन्छ । नेपालमा मिश्रित ऊर्जा विस्तारका प्रमुख क्षेत्र जस्तै दुर्गम पहाड र हिमाली बस्ती, ससाना टापु, समुदाय र चरन क्षेत्र, ग्रामीण विद्यालय, स्वास्थ्यचौकी, कृषिकेन्द्र, उच्च क्षमता जडान सम्भव नभएका क्षेत्रहरू लाभदायिक हुन्छन् भने अर्को तर्फ सहरी क्षेत्रमा पनि यसको प्रयोग बढाउन सकिन्छ । जस्तै सौर्य + ग्रिड, सौर्य + विद्युतीय सवारी चार्जिङ जस्ता उपायले ऊर्जा स्थायित्व बढाउँछ । ऊर्जाको स्थायित्व बढेमा स्वाभाविक रूपमा उपभोक्ताको आकर्षण बढ्न सक्छ ।
नीति र संस्थागत सुधार
दीर्घकालीन मिश्रित ऊर्जा नीति तर्जुमा गरी स्रोत पहिचानदेखि प्राविधिक रूपमा उपयुक्तता, अनुदान संरचना र निजी क्षेत्र सहकार्यसम्म स्पष्ट निर्देश र समन्वय आवश्यक छ । सङ्घीय संरचनाको अभ्यास भइरहेको अवस्थामा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउँदै ऊर्जा परियोजना योजना र व्यवस्थापनमा स्थानीय तहलाई अग्र भूमिकामा राख्नु पर्छ । अध्ययन अनुसन्धान र प्राविधिक जनशक्तिको विकास, विश्वसनीय तथ्याङ्क सङ्कलन, दक्ष प्राविधिक उत्पादन, नवप्रवर्तक र नवप्रवर्तकको प्रोत्साहन, निजी र सामुदायिक सहकार्य विद्युत् उत्पादनमा सामुदायिक स्वामित्वले आर्थिक आय, रोजगारी दुवै बढाउन सक्छ । काम गर्दै जाने क्रममा चुनौती आउँछन्, जसलाई सहज समाधान गर्ने प्रयत्न पनि गर्नु पर्छ । चुनौतीले नै उपलब्धितर्फ उन्मुख हुन सिकाउँछ । यो विषयमा अघि बढेर उपलब्धितर्फ जान निम्न चुनौतीको सामना गर्नु पर्ने हुन्छ । जस्तै, प्रारम्भिक उपकरणमा लागत बढी, प्राविधिक दक्षता अभाव, ऊर्जा भण्डारण प्रविधि महँगो, नीति कार्यान्वयनमा सुस्तता आदि । यी कमीकमजोरी समाधान गर्न सरकारी तथा निजी र सामुदायिक क्षेत्र सबैको सक्रियता र सहकार्य आवश्यक छ ।
अन्तर्राष्ट्रिय उदाहरण
छिमेकी देश भारतलाई हेर्दा कृषि सिँचाइमा सौर्य + ग्रिड संयोजन भएको पाइन्छ । चीनमा हावाजन्य + सौर्य संयुक्त परियोजना सञ्चालन भएका छन् । भुटानमा जलविद्युत्सँग सौर्य सन्तुलन नीति लिइएको छ । नेपालले यी अनुभवलाई आफ्ना सन्दर्भमा रूपान्तरण गर्न सिकाइका रूपमा लिन सक्नु पर्छ ।
निष्कर्ष
नेपाल ऊर्जा स्रोतले सम्पन्न मुलुक भए पनि त्यसको योजनाबद्ध उपयोगमा अझै परिपक्वता आवश्यक छ । केवल जलविद्युत्मा निर्भरता टिकाउ समाधान होइन । भौगोलिक, सामाजिक र आर्थिक अवस्थालाई ध्यानमा राखेर मिश्रित ऊर्जा प्रणाली लागु गर्न सकियो भने ग्रामीण क्षेत्रबाट सहरीकरणको बसाइँसराइको दबाब कम हुने छ, लगानी सुरक्षित हुने छ, ऊर्जा उत्पादनमा आत्मनिर्भरता हुने छ, ऊर्जा निर्यात समृद्धिको आधार बन्न सक्ने छ । नेपालको उज्यालो भविष्य मिश्रित ऊर्जामा छ । आजको सही निर्णयले भोलि पुस्तालाई स्थायी ऊर्जा सुरक्षा प्रदान गर्ने छ । हिमाल, पहाड र तराईको अवस्थामा हुन सक्ने सम्भावित स्रोत पहिचान गरी, अधिकतम स्रोतको उपयोग गर्दै ऊर्जा क्षेत्रको विकासबाट समृद्धिको यात्रामा जान सकिने छ ।