• १६ कात्तिक २०८२, आइतबार

तेब्बरले बढ्यो हिमाल आरोहण राजस्व

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १६ गते । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो । सरकारले विसं २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यसबाहेक यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो । 

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा यस वर्ष भने साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको छ । जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्रमा असर परे पनि आरोहण क्षेत्रमा भने विगतभन्दा सुधार आएको छ । यस वर्ष हालसम्म आरोहण हुन नसकेका हिमालमा समेत आरोहण भएको छ । सगरमाथा आरोहणमा मुस्किल मानिने यो याममा आरोहण पूरा गर्दै अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गरेर कीर्तिमानसमेत कायम भएको छ ।

यसअघि सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ को सोही अवधिमा सात करोड ६३ लाख रुपियाँ सङ्कलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपियाँ राजस्व उठेको उहाँले जानकारी दिनुभयो । 

सन् २०२३ को शरद् याममा १७० समूहका एक हजार ३२६ र सन् २०२४ को सोही याममा १५८ समूहका एक हजार २८० आरोहीले अनुमति लिएकोमा अहिले १७५ समूहका एक हजार ४५० जनाले आरोहण अनुमति लिएको उहाँले बताउनुभयो । अनुमति लिनेमा नेपालसहित ८३ देशका ३४५ महिला र एक हजार १०५ जना पुरुष रहेका छन् । यो याममा विभागले जारी गरेको ५४ हिमालको आरोहण अनुमतिमध्ये सबैभन्दा धेरै मनासलु आरोहण गर्न ३७४ जनाले अनुमति लिएका छन् । मनासलु आरोहणबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ राजस्व उठेको छ ।

विभागका अनुसार हाल नेपालमा आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये आरोहण हुन नसकेका १०२ हिमालमध्ये यो याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा रहेको नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । 

पोल्यान्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले १५ घण्टाको कठिन प्रयासपछि छ हजार ९५८ मिटर अग्लो नुम्बुरको चुचुरोमा पहिलो पाइला टेकेको विभागले जनाएको छ । नुम्बुरमा यसअघि सन् १९६३ मा जापानी र सन् १९८१ मा फ्रान्सेली आरोहण दलले आरोहणको प्रयास गरे पनि सफल भएका थिएनन् ।