• १६ कात्तिक २०८२, आइतबार

पर्यटकको उद्धार जारी

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १६ गते । वर्षा र हिमपातका कारण गत सोमबारदेखि हिमाली जिल्लामा रोकिएका पर्यटकको उद्धार जारी छ । बाक्लो हिमपात र प्रतिकूल मौसमको कठिनाइका कारण म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखुम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा रोकिएका पर्यटकको पाँचौँ दिन पनि उद्धार जारी रहेको हो ।

यसै क्रममा मनाङको तिलिचोताल बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएस्पी शैलेन्द्र थापाका अनुसार मनाङको ङिस्याङ गाउँपालिका–९, तिलिचोतालको आधार शिविर (बेसक्याम्प) मा अलपत्र परेका १३ जना पर्यटकको शनिबार बिहान उद्धार गरिएको हो । तिलिचोताल बेसक्याम्पबाट दुई चिनियाँ र ११ नेपाली पर्यटकको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्गको सरिबुङ भन्ज्याङ (पास) गएका १४ जना पदयात्री तीन दिनपछि सम्पर्कमा आएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार लोघेकर दामोदरकुण्ड–४, याराबाट दामोदरकुण्ड हुँदै मनाङको फुगाउँ निस्किने क्रममा मङ्गलबारदेखि हिमपातमा पसेका ११ जना सम्पर्कमा आएका हुन् । उहाँले भन्नुभयो, “मङ्गलबारदेखि सिरिबुङ पास क्षेत्रमा रोकिएका तीन जना अस्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कमा आएका छन् । पर्यटक रहेको क्षेत्रमा बाक्लो हिमपात भएको र पदमार्ग हिउँले पुरिएपछि अहिले दराङमा बसिरहेको खबर प्राप्त भएको छ । पर्यटकलाई खान र बस्नको समस्या छैन । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएकाले पर्यटक आफ्नै हिसाबले तल झर्ने तयारीमा रहेकाले तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन ।”

कागबेनीदेखि उपल्लो मुस्ताङ जाने बाटोको ठाउँ ठाउँमा पहिरो गएकाले शनिबारदेखि पाँच वटा मेसिन (एक्साभेटर) प्रयोग पहिरो पन्छाउने काम सुरु भएको भुसालले बताउनुभयो । मौसमले साथ दिए बाटो सञ्चालनमा आउन अझै चार/पाँच दिन लाग्ने जनाइएको छ ।

यसैबिच गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार मनासलु क्षेत्र घुम्न गएका काठमाडौँको टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्सालको तीन दिनपछि शनिबार हवाई उद्धार गरिएको छ । उहाँले भन्नुभयो, “जिल्लाको चुमनुब्री गाउँपालिका–५, बिहीमा पैदल हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते लम्साललाई तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौँ पठाइएको छ । प्रतिकूल मौसमका कारण पाङ्वारी हिमालमा फसेका तीन इटालियन र तीन नेपाली नागरिकको उद्धारका लागि शनिबार दिनभर प्रयास गरे पनि उद्धार सफल भएन । आइतबार मौसममा थप सुधार आउने अपेक्षासहित उद्धारका लागि तयारी अवस्थामा रहेका छौँ ।” 

त्यस्तै जिल्लाको चुमनुब्री–३, न्याकफेदीनेरमा शुक्रबार खसेको पहिरोमा परेर पुरिनुभएका चेक रिपब्लिककी ५४ वर्षीय महिलाको खोजीका लागि नेपाली सेनाको एक टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । सोलुखुम्बुको लुक्लामा पछिल्लो चार दिनदेखि हवाई उडान नहुँदा हजारौँ पर्यटक खुम्बु क्षेत्रमै रोकिएका छन् । तेन्जिङ हिलारी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अमन झाका अनुसार प्रतिकूल मौसमका कारण लुक्लामा शुक्रबार र शनिबार कुनै पनि जहाजले उडान भर्न सकेनन् । शुक्रबार हेलिकोप्टरबाट ५० जति उडान भए पनि शनिबार एक दर्जन हाराहारीमा मात्रै हेलिकोप्टरको उडान हुँदा लुक्लामा रोकिएका पर्यटक फर्किन सकेका छैनन् ।