ग्योङ्जु (दक्षिण कोरिया), कात्तिक १५ गते । एसिया-प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध अन्त्य गर्न सहमति भएको केही दिनपछि आएको हो ।
दुई दिनसम्म दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङ्जुमा चलेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेताले विश्वव्यापी आर्थिक चुनौती पार गर्न सहयोग र बहुपक्षीयतामा जोड दिएका छन् । उनीहरूले विश्वको दुई ठूला अर्थतन्त्र-अमेरिका र चीन-बिचको तनावले प्रभावित भएको आर्थिक सन्तुलन पुनःस्थापना गर्न सँगै अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।
गत बिहीबार ट्रम्प र सीले एपेक शिखर सम्मेलनको साइडलाइनमा भेट गरी अघिल्ला व्यापार अवरोध फिर्ता लिने र तनाव घटाउने सहमति गर्नु भएको थियो । बहुपक्षीयतामा सशङ्कित मानिनुभएका ट्रम्पले उक्त सहमति भएपछि दक्षिण कोरियाबाट शीघ्र प्रस्थान गर्नुभयो । यसले चिनियाँ राष्ट्रपतिलाई सम्मेलनमा अग्रपङ्क्तिको भूमिका दिलायो ।
संयुक्त वक्तव्यमा भनिएको छ, “विश्वव्यापी व्यापार प्रणालीले अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ । एसिया–प्रशान्त क्षेत्रको विकास र समृद्धिका लागि बलियो व्यापार र लगानी अपरिहार्य छ भन्ने हाम्रो साझा विश्वास पुनः पुष्टि गर्दछौँ ।” दक्षिण कोरियाको नेसनल डिप्लोमेटिक एकेडेमीका प्राध्यापक जोङहुन मिनका अनुसार वक्तव्यले ‘स्वतन्त्र र खुला व्यापार’ का प्रत्यक्ष शब्द परहेज गरे पनि आर्थिक सहकार्य र बहुपक्षीय मूल्यलाई समेट्न सफल भएको छ । उहाँका शब्दमा, “यसलाई पूर्णरूपमा बेवास्ता गर्न सम्भव थिएन ।”
वक्तव्यमा एपेक सदस्य राष्ट्रले सन् २०२० मा स्वीकृत पुत्रजया भिजन २०४० प्रति प्रतिबद्धता पुनः दोहो¥याएका छन्, जसले स्वतन्त्र, खुला, निष्पक्ष र पारदर्शी व्यापार वातावरणको लक्ष्य राख्दछ ।
-सी जिनपिङको प्रमुख भूमिका-
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विश्वव्यापी स्वतन्त्र व्यापार र आपूर्ति शृङ्खलाको स्थिरता’ लाई समर्थन गर्ने घोषणा गर्नुभयो । उहाँले एपेकसँगै आयोजित सिइओ शिखर सम्मेलनमा पठाएको सन्देशमा भन्नुभयो, “चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो ।”
शुक्रबार सीले जापान, क्यानाडा र थाइल्यान्डका प्रधानमन्त्रीसँग द्विपक्षीय भेट गर्नुभयो र शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट तय भएको थियो । सियोलका अधिकारीहरूका अनुसार उक्त भेटमा कोरियाली प्रायद्वीपको आणविक निः शस्त्रीकरण प्रमुख एजेन्डा थियो ।
तर सो विषयले उत्तर कोरियाको कडा प्रतिक्रिया जन्मायो । उत्तर कोरियाका उपविदेशमन्त्री पाक म्योङ होले दक्षिण कोरियाको ‘आणविक निःशस्त्रीकरणको दिवास्वप्न’ भनेर व्यङ्ग्य गर्नुभयो र चेतावनी दिनुभयो, “हामीले देखाउनेछौँ यो सपना कहिल्यै साकार हुँदैन ।” राष्ट्रपति लीले भने कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता स्थापना एसिया-प्रशान्त क्षेत्रको समृद्धिको पूर्वशर्त रहेको बताउँदै उत्तर कोरियासँग मेलमिलापका लागि थप सक्रिय कदम चाल्ने घोषणा गर्नुभयो ।
-एआई र जनसाङ्ख्यिकीय चुनौतीमा छलफल-
शुक्रबारको सत्र व्यापार र लगानीमा केन्द्रित रहे पनि शनिबारको बैठकमा कृत्रिम बौद्धिकता (एआई), जनसाङ्ख्यिकीय चुनौती र सांस्कृतिक उद्योगमा सहकार्यका विषयमा गहन छलफल भयो । नेताले दुई पृथक वक्तव्य जारी गर्दै ती विषयमा साझा दृष्टिकोण प्रस्तुत गरे ।
पहिलो वक्तव्यले एआईलाई द्रुतरूपमा बढ्दै गएको डिजिटल वातावरणमा ‘संभावित आर्थिक उत्प्रेरक’ का रूपमा व्याख्या गर्दै समन्वित नीतिको आह्वान ग¥यो । दोस्रो वक्तव्यले घट्दो जन्मदर, वृद्ध जनसङ्ख्या र तीव्र सहरीकरणजस्ता सामाजिक चुनौती सामना गर्न सहकार्यको आवश्यकता औँल्यायो ।
सन् १९८९ मा स्थापित एपेकले स्वतन्त्र र खुला व्यापारलाई प्रोत्साहन गर्दै क्षेत्रीय आर्थिक एकीकरणको उद्देश्य राखेको छ । यद्यपि हालका वर्षमा अमेरिका–चीन प्रतिस्पर्धा, आपूर्ति शृङ्खला अवरोध, वृद्ध जनसङ्ख्या र रोजगारीमा एआईको प्रभावजस्ता चुनौतीले यस क्षेत्रलाई गम्भीररूपमा प्रभावित पारिरहेका छन् ।
हाल अमेरिकी नीति चीनसँग सहकार्यभन्दा बढी आर्थिक प्रतिस्पर्धातर्फ मोडिएको छ । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डा र बढ्दो कर नीतिले विश्व बजारमा अस्थिरता सिर्जना गरेको छ र दशकौँको विश्वव्यापीकरण र बहुपक्षीयताको धारालाई चुनौती दिएको छ । रासस/एपी