• १५ कात्तिक २०८२, शनिबार

चीनकै भूमिमा रोकिए करोडौंको नेपाली मालबस्तु

blog

चीनको स्वाशासित क्षेत्र न्यालाममा रोकिएका नेपाली मालवस्तु ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, कात्तिक १५ गते । चीनको स्वाशासित क्षेत्र न्यालाम सरकारले मनमौजी रुपमा मालबस्तु छाड्नेक्रमले तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालबस्तु बोकेका कन्टेनरका करोडौं मूल्यका सामान चिनियाँ क्षेत्रमा नै रोकिएका छन् । 

दसैं, तिहार लक्षित सामानहरु न्यालममै रोकिएपछि व्यापारी, व्यवसायी मारमा परेका छन् । व्यवसायीले खरिद गरेका करोडौं मूल्यका सामानहरु न्यालम सरकारले तातोपानी नाका हुँदैं नेपाल छिर्न कडाइ गरेपछि सामानहरु उत्तै रोकिएका हुन् । न्यालम प्रशासनले तातोपानी नाका हुदैं आउजाउमा कडाइ गरेपछि समयमा करोडौंको सामान आउन नपाएको हो ।

रसुवा नाका बन्द भएपछि व्यवसायीले तातोपानी नाका हुँदै मालबस्तु नेपाल ल्याउन लागेको थिए । तर न्यालम प्रशासनले कन्टेनर आउजाउमा कडाइ गरेपछि प्रर्याप्त मालबस्तु बोकेका कन्टेनर आउन नसकेको हो । 

अधिकांश कन्टेनरमा दसैं तिहारका सामान छन् । साउनको पहिलो सातादेखि तातोपानी सडक खण्डअन्तर्गत कोदारी सडक खण्ड बन्द भएपछि चीनबाट तातोपानी भन्सार कार्यालयमा मालबस्तु बोकेका कन्टेनर आउन पाएको थिएन् । कोदारी सडक सुचारु भए पनि न्यालम सरकारले कन्टेनर आउजाउमा कडाइ गरेपछि करोडौंका सामान उत्तै रोकिएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) कानुसार तिब्बतको न्यालम प्रशासनले सीमित संख्यामा मालबस्तु बोकेका कन्टेनर छोडेका कारण अरबौं रुपियाँका सामानहरु चिनियाँ भू–भागमा रोकिएको दुखेसो पोख्नुभयो । 

चीनको न्यालम, केरुङ लगायतका शहरमा नेपाली व्यापारीले किनेका सामानहरु रोकिएको उहाँले पीडा सुनाउनुभयो । कतिपय मालबस्तु लोड गरेर राखिएको भए पनि न्यालम प्रशासनले कन्टेनरमा छाडेको छैन् । त्यसकारण व्यवसायी व्यापारी मारमा परेको बताएका छन् ।

तातोपानी नाकाबाट मालबस्तु बोकेका कन्टेनर ल्याउन कठिन हुन थालेपछि कतिपय व्यवसायीले मुस्ताङो कोरला नाका हुँदै व्यापारिक सामान ल्याउन थालेका छन् । तर जाडो मौसममा हिउँ पर्ने, जम्ने कारण कन्टेनर आउजाउमा समस्या पर्ने देखिएको छ । तर पनि दसैं तिहारका सामानहरु सोही नाकाबाट आयात गरिएको घिमिरेले बताउनुभयो । हिउँ पर्ने र जम्ने हुँदा उक्त नाकाबाट मालबस्तु ल्याउन कठिन हुने देखिन्छ । 

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की नेतृत्वमा नेपालस्थित चिनियाँ दुतावासलाई मालबस्तु बोकेको कन्टेनर पर्याप्त मात्रामा छोड्नका लागि न्यालम प्रशासनसँग पहल र समन्वय गरिदिन लिखित, मौखिक रुपमा आग्रह गरेको छ । 

नेपाल सरकारले नै पहल गर्दा झन राम्रो हुने संघको ठम्माइ छ । न्यालम प्रशासनले तातोपानी नाका हुँदै दैनिक १५ देखि २० वटा कन्टेनरसम्म मात्र छोडेको छ । तर उसले दैनिक ४० देखि ५० वटा बढी संख्यामा मालबस्तु बोकेको कन्टेनर छोडेमा रोकिएका सामान केही महिनामा नै आयात हुने घिमिेरेले बताउनुभएको छ । यसका लागि सरकारले पहल थालिदिन उहाँले आग्रह गर्नुभयो ।