• १५ कात्तिक २०८२, शनिबार

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

blog

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा ।

बैङ्कक, कात्तिक १४ गते । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गर्नु भएको सत्तारूढ फेउ थाई पार्टी ले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्व उप-अर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।

अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गर्नु भएको थियो । ३९ वर्षीया पेटोङटार्न पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ ।

राजनीतिक विश्लेषकका अनुसार उहाँको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ । यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत गरेको पनि तर्क गरिएको छ ।

फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो । उत्तरी चियाङ माई प्रान्तका सांसदसमेत रहेका जुलापुनले पत्रकारलाई सम्बोधन गर्दै भन्नुभयो, “पार्टीको नेतृत्व गर्ने अवसर पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सबै सदस्यलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

जुलापुन थाइल्यान्डका अनुभवी राजनीतिज्ञ सोमपोङ अमोर्नभिवाटका छोरा हुनुहुन्छ । उहाँले २०१९ मा उपप्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो । उहाँ फेउ थाईको अघिल्लो कार्यकालमा समेत पार्टी नेतृत्वको जिम्मेवारीमा रहनुभएको थियो । सन् २०२३ को आम निर्वाचनअघि जुलापुन पार्टीका प्रमुख नीति-नियोजक मध्ये एक हुनुहुन्थ्यो । उहाँले नागरिकलाई १० हजारबाट (झन्डै ३०० अमेरिकी डलर) नगद प्रोत्साहन र क्यासिनो सञ्चालनलाई वैधता दिने प्रस्ताव अघि सार्नु भएको थियो, जसले मतदाता माझ पार्टीलाई लोकप्रिय बनाएको थियो ।

तर, राजनीतिक विश्लेषकका अनुसार फेउ थाई पार्टीको नेतृत्व जोसुकैले सम्हाले पनि वास्तविक शक्ति र प्रभाव अझै पनि पार्टीका संस्थापक थाक्सिन सिनावात्रा र उहाँको राजनीतिक परिवारकै वरिपरि केन्द्रित रहने छ । थाक्सिन र उहाँका समर्थक दशकौँदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गका प्रमुख प्रतिद्वन्द्वी बनेका छन् । उनीहरूले अघि सारेको ‘लोकप्रियतावादी नीति’ लाई देशका परम्परागत अभिजातले आफ्नो सामाजिक संरचनामा चुनौतीका रूपमा लिएका छन् ।

सन् १९९० को दशकको अन्त्यतिर थाक्सिनले फेउ थाईको पूर्वरूपको रूपमा रहेको थाई रक थाई पार्टी स्थापना गर्नु भएको थियो । तर सन् २००६ मा सैनिक विद्रोहपछि उहाँलाई प्रधानमन्त्री पदबाट हटाइयो र त्यसपछि लामो समय विदेश निर्वासनमा रहनुभयो ।

हाल ७६ वर्षीय थाक्सिन सिनावात्रा भ्रष्टाचार सम्बन्धी मुद्दामा जेल सजाय काटिरहनु भएको छ । यद्यपि, उहाँको राजनीतिक प्रभाव र लोकप्रियता अझै पनि थाइल्यान्डको जनमत र सत्तारूढ दलको निर्णय प्रक्रियामा गहिरो रूपमा प्रतिविम्बित भइरहेको देखिन्छ । रासस/एएफपी