• १९ असार २०८१, बुधबार

कैलालीका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप

blog

विद्यालयमा फाइजर खोप लगाइसकेपछि सामूहिक रुपमा खोप कार्ड देखाउँदै बालबालिका । तस्बिर : कैलारी गाउँपालिकाको कार्यालय

अविनाश चौधरी

धनगढी, असार १९ गते । कैलालीका पाँच वर्षदेखि १२ वर्षमुनिका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

विद्यालयहरुमै खोप केन्द्र निर्धारण गरेर सानो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइएको हो । छुटेका बालबालिकालाई भने स्वास्थ्य संस्थामा एक दिन खोप कार्यक्रम राखेर सो खोप लगाइएको थियो । 

पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई असार ९ गतेबाट फाइजर खोप लगाउन सुरु गरिएको थियो । जिल्लाका १३ वटै स्थानीय तहमा गरेर एक लाख ४३ हजार ९३४ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिए पनि अहिलेसम्म लक्ष्यसम्म पुग्न सकिएको छैन ।

नियमित खोप कार्यक्रम सञ्चालन भएका पालिकामा ढिलो गरी कोरोनाविरुद्धको खोप अभियान सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार गौरीगङ्गा नगरपालिकामा बल्ल खोप लगाउन सुरु गरिएको छ । 

‘केही पालिकाहरुमा अझै खोप लगाउने कार्य भइरहेको छ’, प्रमुख धामीले भन्नुभयो । ‘अभियान अझै जारी रहेकाले धेरै बालबालिकाले अझै खोप नपाएको देखिन्छ ।’ 

पहिलो चरणमा खोप लगाउनका लागि कैलालीलाई एक लाख पाँच हजार डोज खोप आएको थियो । २३ हजार डोज खोप अझै अपुग रहेको धामीले बताउनुभयो । 

जिल्लाको मोहन्याल गाउँपालिकामा चार हजार ४४०, चुरेमा तीन हजार ९८०, गोदावरी नगरपालिकामा १६ हजार ५६९ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । यस्तै, धनगढी उपमहानगरपालिकामा ३० हजार ७७८, भजनी नगरपरपालिकामा सात हजार १२८, टीकापुर नगरपालिकामा १३ हजार ७२६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । 

गौरीगङ्गा नगरपालिकामा १० हजार ५००, घोडाघोडीमा १४ हजार ४६४, लम्कीचुहा नगरपालिकामा २२ हजार ४९ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने लक्ष्य रहेको छ । 

यसैगरी, कैलारी गाउँपालिकामा चार हजार ८३७, जोशीपुर गाउँपालिकामा चार जार ६९९, पाँच जानकीमा पाँच हजार ११०, बर्दगोरिया गाउँपालिकामा पाँच हजार ६५४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।