पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), कात्तिक १४ गते । दैलेखको सदरमुकाम नारायण नगरपालिका–१ स्थित पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनको सम्भावना बोकेको ऐतिहासिक कोतगढी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको हो । दैलेख सदरमुकाम नारायण नगरपालिका–१, पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी अवलोकन गर्न मानिसहरू आउने गरेका डुङ्गेश्वर गाउँपालिका–१ का सिर्जना भण्डारीले बताउनुभयो । उहाँले कोतगढीमा रहेको २३२ वर्ष पुरानो सुन्दरी तोप हेर्न आउनेको सङ्ख्या बढेसँगै पछिल्लो समय कोेतगढीको चर्चा बढेको उल्लेख गर्नुभयो ।
ढुङ्गैढुङ्गाले निर्माण गरिएको कोतगढीभित्र रहेको पुरानो कोतघरलाई जस्ताको त्यस्तै पुनर्निर्माण गरी त्यसैमा सङ्ग्रहालय बनाउने र आन्तरिक व्यवस्थापनमा जोड दिए अझै कोतगढी हेर्न आउनेको सङ्ख्या बढ्ने नारायण नगरपालिका–१ का पूर्ववडाध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले प्रचारप्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक कोतगढी हेर्न आउने जानकारी दिनुभयो । स्थानीय सरकारले त्यसलाई बिहान १० बजेदेखि ४ बजेसम्म हैन बिहानैदेखि साँझसम्म खुला गर्नुपर्र्ने माग उहाँको छ । उहाँले गढीको संरक्षण गरेर टिकट सिस्टमको व्यवस्था गरे अझै व्यवस्थित हुने उहाँले बताउनुभयो । कोतगढीमा राखिएको तोप संरक्षणका लागि स्थानीय सरकार लागिपरेको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले बताउनुभयो ।
उहाँले सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले आफ्नो सुरक्षाका लागि यही कोतगढी प्रयोग गरेको जनाउनुभयो । उहाँले पछिल्लो समयमा पारिवारिक भ्रमण, विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मनाउन स्वदेश फर्किएकाहरू कोतगढी हेर्न आउने गरेका बताउनुभयो । नगरपालिकाले विभिन्न सञ्चार माध्यमबाट यसको प्रचारप्रसार गरेको नगरप्रमुख शर्माको भनाइ छ ।
दैलेखमा रहेको ज्वाला दल गण दैलेखबाट सुर्खेत सरेर जाँदा तोप पनि स्थानान्तरण गरिएको थियो । कोतगढीमा रहेको तोप २०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा जाँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसँगै सुर्खेत लगिएको थियो । सुन्दरी तोप २३२ वर्ष पुरानो मानिन्छ । यो ऐतिहासिक तोप सुर्खेतस्थित नेपाली सेनाको पश्चिम पृतनाबाट दैलेखको कालीदत्त गुल्म काँडाचौरमा फिर्ता ल्याइएको थियो । गुल्मले कोतगढीको जिम्मा दैलेखको नगरपालिकालाई जिम्मा लगाएको थियो । सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।
 
                                
                             
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                