• १२ कात्तिक २०८२, बुधबार

पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल, सीमा हिंसापछि तनाव चर्कियो

blog

इस्लामाबाद, कात्तिक १२ गते । पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्तिवार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौ पुरानो तनाव पुनः तीव्र बनाएको छ । 

पछिल्ला हप्तामा भएका सीमा झडप र बम विस्फोटपछि स्थायी युद्धविरामको आशामा गम्भीर धक्का पुगेको बताइएको छ । अक्टोबर ९ मा काबुलमा भएको विस्फोटमा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएपछि तालिबानले पाकिस्तानमाथि दोषारोपण गरेको थियो । त्यसपश्चात् बढ्दो हिंसालाई नियन्त्रण गर्न दुवै पक्षले कतार र टर्कीको मध्यस्थतामा इस्तानबुलमा चार दिने वार्ता गरेका थिए ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले एक्समा लेख्दै भन्नुभयो, “दुर्भाग्यवश, अफगान पक्षले कुनै ठोस आश्वासन दिएन । उनीहरूले मुख्य विषयबाट ध्यान हटाएर दोषारोपण र षडयन्त्रको बाटो रोजे ।” उहाँका अनुसार वार्ताले कुनै व्यावहारिक परिणाम ल्याउन सकेन । तरारले पाकिस्तानले शान्तिपूर्ण समाधानका लागि गम्भीर पहल गरेको तर काबुलले पाकिस्तानविरुद्ध सक्रिय आतङ्ककारी समूहलाई निरन्तर सहयोग गरेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “हामी आतङ्कवादको खतराबाट जनतालाई जोगाउन आवश्यक सबै उपाय जारी राख्नेछौँ ।” यसैबिच रक्षामन्त्री ख्वाजा आसिफले पनि चेतावनी दिंदै भन्नुभयो, “ पाकिस्तानमा पुनः कुनै आत्मघाती हमला वा आतङ्कवादी आक्रमण भयो भने त्यसको परिणाम कडाइका साथ भोग्नुपर्छ ।”

अफगानिस्तानतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले स्थानीय मिडियालाई भन्नुभएको छ, “हाम्रो जवाफ पाकिस्तानका लागि पाठ र अरूका लागि सन्देश हुनेछ ।” दुई देशबिचको सम्बन्ध पछिल्ला वर्षमा झन् तनावपूर्ण बनेको छ । पाकिस्तानले अफगान भूमिमा रहेका तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहलाई तालिबान सरकारले शरण र सहयोग दिएको आरोप लगाउँदै आएको छ । 

तालिबानले भने यी आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । पाकिस्तानी सुरक्षा स्रोतका अनुसार वार्ताको प्रारम्भमा अफगान प्रतिनिधिमण्डलले टिटिपीविरुद्ध कारबाही गर्न सहमति जनाए पनि पछि आफ्नो धारणा परिवर्तन गर्‍यो  । उक्त परिवर्तन काबुलको राजनीतिक निर्देशनपछि आएको दाबी गरिएको छ । अक्टोबर ९ को विस्फोट अफगान विदेशमन्त्री अमिर मुत्ताकीको भारत भ्रमणबिचमा भएको थियो ।

त्यसपछि तालिबानले सीमा आक्रमण गरेको र पाकिस्तानले जवाफी कारबाही गरेको थियो । कतार र टर्कीको पहलमा दोहामा भएको वार्तापछि १९ अक्टोबरमा अस्थायी युद्धविराम घोषणा गरिएको थियो, तर त्यसअघि भएको ४८ घण्टे प्रारम्भिक युद्धविराम समेत स्थायी बन्न सकेको थिएन । दुई देशबिचको सीमा दुई हप्ताभन्दा बढी समयदेखि बन्द छ । 

पाकिस्तानले केवल निष्कासित अफगान नागरिकलाई फर्किन अनुमति दिएको छ । अफगान सहर स्पिन बोल्डकमा फलफूल बोकेका ट्रक कुहिन थालेका छन् । चालक गुलले भन्नुभयो, “५०-६० ट्रक रोकिने अवस्थामा छन्, स्याउ र अनार सडिरहेका छन् । हामी सरकारसँग सीमा खोल्न आग्रह गर्छौ ।” संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) का अनुसार गत हप्तामा मात्र अफगानिस्तानमा कम्तीमा ५० नागरिक मारिएका र ४४७ जना घाइते भएका छन् । 

पाकिस्तानले पनि १२ अक्टोबरमा २३ सैनिकको मृत्यु र २९ जना घाइते भएको पुष्टि गरेको छ, तर नागरिक हताहतको विवरण सार्वजनिक गरेको छैन । यो असफल वार्ताले दक्षिण एसियाका दुई इस्लामिक राष्ट्रबिचको सम्बन्ध पुनः सङ्कटमा धकेलेको छ । त्यहाँ दशकौँदेखि चल्दै आएको अविश्वास र सीमा विवाद अझ गहिरो बन्दै गएको छ । रासस/एएफपी