कालीकोट समाचारदाता
कालीकोट, कात्तिक १२ गते । कालीकोटस्थित पचाल झरनालाई नेपालकै सबैभन्दा अग्लो झरना भएको दाबी गरिएको छ । एसियामै आकर्षकमध्ये एक मानिएको यो झरना अवलोकनमा पर्यटक आइपुग्न भने समस्या देखिएको छ ।
प्रचारप्रसारको कमी तथा सडकको दुरवस्थाका कारण पर्यटकलाई सो ठाउँसम्म पुग्नै समस्या भएको हो । नेपाल सरकारले प्रकाशन गरेको एक सय प्रमुख गन्तव्यको सूचीमा लगातार सो झरना पर्दै आए पनि अपेक्षा गरे अनुसार पर्यटक पुग्न सकेका छैनन् । मुख्य समस्या भने सडककै हो । कर्णाली कोरिडोर पनि बेला बेला अवरुद्ध भइरहने र कोरिडोरदेखि माथि झरना पुग्ने सडकसमेत सुविधायुक्त नभएकाले पर्यटक आउन नसकेको स्थानीयको भनाइ छ ।
यही झरनाकै नाममा गाउँपालिकाको नामकरण गरिएको छ । पचालझरना गाउँपालिका–१ का धनीराम न्यौपानेले सडकको अवस्था जीर्ण भएकाले पर्यटक आवागमन असहज भएको बताउनुभयो ।
यस्ता पर्यटकीय क्षेत्रमा सहजै पुग्ने सडक तथा अन्य यातायातका साधन र केबुलकार जस्ता संरचना निर्माण गर्न नसक्दा माल पाएर पनि चाल नपाएको जस्तो अवस्था छ । यो झरनाको औपचारिक नाप लिएपछि ३८१ मिटर सिधै झरेको झरना बोर्डमा सूचीकृत भएको तथ्याङ्कमा उल्लेख छ । कुनै एक ठाउँमा ठोक्किएकोसहितको हिसाब गर्दा उक्त झरना चार सय मिटरभन्दा लामो हुन्छ । स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यस क्रममा पचालझरना नेपालकै सबैभन्दा अग्लो भएको पुष्टि भएको थियो ।
पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको गाउँपालिकाका निवर्तमान अध्यक्ष खड्गबहादुर सेजुवालले बताउनुभयो । उहाँले आफ्नै पहलमा नापी भएको र सूचीकृत पनि भएको जानकारी दिँदै नेपालको पर्यटकीय गन्तव्यमा पनि लगातार पर्दै आएको बताउनुभयो । पर्यटक पुग्न सडकको पहुँच राम्रो नहुँदा भने समस्या भएको उहाँको भनाइ छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय कालीकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, ¥याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको नाप लिएको थियो । दुई वटा जिपिएसको सहायताबाट दुई दिन लगाएर झरनाको नाप लिइएको हो ।
यसअघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको ह्यार्तुङ झरनाको उचाइ ३६५ मिटर मात्र छ । ह्यार्तुङभन्दा पचालझरनाको उचाइ १६ मिटर बढी पाइए पनि यसको खासै प्रचार हुन सकेको छैन । पचालझरना विश्वकै ३० अग्ला झरनामा परेको बताइएको छ ।