• १० कात्तिक २०८२, सोमबार

सशस्त्र प्रहरीद्वारा सीमानाकामा कडाइ

blog

सीमानाकाबाट अवैध सामान आयात निर्यात हुन नदिन खटिएका बिओपि रामपुर खापका सशस्त्र प्रहरी । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, कात्तिक १० गते ।
रौतहटको रामपुरखाप सीमापारिबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न सशस्त्र प्रहरी कडा रूपमा प्रस्तुत भएको छ । बिओपि रामपुरखाप नाकामा खटिएको सशस्त्र प्रहरीले कडाइ गरेर दैनिक सामान बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीको निगरानी बढ्दै गए पछि पछिल्लो समय यो नाका भएर अवैध सरसामान आयातमा कमि आएको अवस्था रहेको छ ।

केही समयदेखि बिओपि रामपुरखापका सशस्त्र प्रहरीले खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान नै चलाएको छ । रामपुरखाप नाका भएर अवैध सामान नेपाल भित्रिने गरेकोले नाकामा उल्लेख्य सङ्ख्यामा सशस्त्र प्रहरी खटाइएको बिओपि रामपुरखापका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले जानकारी दिनुभयो । बिओपि रामपुर खापले गएको एक महिनामा दस लाख बराबरको मालसामान समातेर भन्सार कार्यालयमा बुझाएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले तस्करी र अवैध रूपमा भित्रिएको धेरै सामान बरामद गरे पनि अधिकांश ठाउँमा तस्कर र भरियाले प्रहरी देख्ने वित्तिकै सामान छोडेर भाग्ने गरेको अवस्था रहेको छ । सिमानाकामा कडाइ गरे पछि अवैध सरसामान आयात निर्यात रोकिनुको साथै शान्ति सुरक्षामा समेत यसले सकारात्मक प्रभाव पारेको सशस्त्र प्रहरी निरीक्षक सुवालले बताउनुभयो ।

विपदका समयमा जनतालाई सहयोग पुर्याउनेदेखि लिएर आपराधिक गतिविधि नियन्त्रण समेतमा  सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी तत्परताको साथ खटिएको सशस्त्र प्रहरी निरीक्षक सुवालले बताउनुभयो ।  

रामपुर खाप सानो भन्सार सञ्चालन नहुँदा स्थानीयले भन्सार तिरेर मालसामान आयात निर्यात गर्न सकेका छैन भने चारपांग्रे सवारीसाधन नाका भएर आवत जावत गर्न नपाउँदा स्थानीयले शास्ती भोग्नु परेको छ ।