• १४ पुस २०८२, सोमबार

नाम्जुङ-रामभञ्ज्याङ-बुङकोटघाट सडक कालोपत्रे

blog

शहिद लखन गाउँपालिका–९ को छेलाङगी चोकदेखि वडा कार्यालयसम्म पुग्ने बदेली डाँडासम्म सडक कालोपत्रे सम्पन्न । तस्बिर : कपिल काप्री

गुणबहादुर रोका 

सुलीकोट, पुस १४ गते । गोरखाको शहिद लखन गाउँपालिका–९ स्थित नाम्जुङ–रामभञ्ज्याङ–बुङकोटघाट सडक अन्तर्गतकाे छेलाङगी चोकदेखि वडा कार्यालयको बदेली डाडाँसम्म सडक कालोपत्रे भएको छ । लामो समय देखि धुलो, हिलो र अव्यवस्थित भएको वडा कार्यालय जाने सडक कालोपत्रे भएको हो ।

शहिद लखन गाउँपालिकाको बिशेष पहलमा पूर्वाधार कार्यालय गोरखाको २ करोड ८४ लाख ७९ हजार ७६९ रुपियाँ बजेट मार्फत कालोपत्रे गरिएको हो । उक्त सडक कालोपत्रे योजनाको लागि एमएस बिपु बि जि बि रचन जेभीसँग २०८१ असार १६ गते सम्झौता भएर सडक कालो पत्रे सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीले बताउनुभयो । 

उहाँका अनुसार २०८२ साल असोज २४ गते सम्पन्न गनुपर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीले समयमै दक्ष कामदार सहितको प्राबिधिक टोलीले निरन्तर रुपमा निर्माण काममा जुटेपछि  समयमै १४.५० मिटर सडक कालोपत्रे सम्पन्न भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीले सडकको चौडाई ७ मिटर, नाली १ मिटर, मेसनेरी वाल, ग्याबिन वाल, ह्रयुम पाईप राखेर पानी कटाउने नाली निर्माण गरी ओपन ग्रेडेड प्रिमिक्स कालोपत्रे सम्पन्न भएको पुर्बाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।  

शहिद लखन गाउँपालिका–९ वडा कार्यालय बदेली डाडाँ जाने मुख्य सडक भएकाले पनि वडा अध्यक्ष र गाउँपालिकाको जनप्रतिनिधी सहितको टोलीले मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट व्यवस्थापनकाे लागि पहल गरिएको शहिद लखन गाउँपालिकाले जनाएको छ । 

सडक कालोपत्रे भएपछि वडा कार्यालय पुग्न सहज हुने, बिद्यार्थी, कर्मचारी, व्यापारी तथा सर्वसाधरणको लागि समय र खर्च बचत हुने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ । साथै वर्षा याममा हिलो र सुख्या याममा धुलोका समस्याबाट मुक्ति मिल्ने विश्वास स्थानीयबासीले व्यक्त गरेका छन् । 

वडा अध्यक्ष रामकुमार श्रेष्ठले विकास निर्माणको कामलाई प्राथामिकतामा राख्दै चरणबद्ध रुपमा अन्य सडकहरु पनि कालोपत्रे गर्नका लागि पहल गरिने बताउनुभयो । छेलाङगी चोकदेखि वडा कार्यालय सम्मको कालोपत्रे सडक निर्माणले यस क्षेत्रको समग्र बिकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।