• ८ कात्तिक २०८२, शनिबार

मुस्ताङ भन्सारको राजश्व ३ अर्ब नाध्यो

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालय ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), कात्तिक ८ गते। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनाको पहिलो सातामै ३ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । 

सीमित स्रोत साधनबिच भन्सार कार्यालयमा कार्यरत कर्मचारीको खटाइले कात्तिक ४ गतेसम्म ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

लिजी–नेचुङ नाका (कोरला) मा तिब्वतको ढोङ्वासेन हुँदैआएका विद्युतीय (इभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक लगायतका सामग्रीबाट उक्त राजस्व सङ्कलन गरिएको भन्सार प्रमुख रमेश खड्काले बताउनुभयो । 

पूर्णरूपमा सञ्चालन भएको भन्सार कार्यालयले १४ सय ९८ विद्युतीय (इभी) गाडी, पैठारीतर्फ ६ सय ५७ कन्टेनरसहित मालबाहक ढुवानी साधन जाँचपासका साथै निकासीतर्फ ७ मा ट्रक ढुवानी भएको प्रमुख खड्काले बताउनुभयो । प्रमुख खड्काले भन्नुभयो, ‘‘तिहार मनाउन गएका भन्सार एजेन्ट फर्किदैछन्, अब छठपछि तिब्वतबाट आएका सामान आयात हुन्छ ।’’ 

नाका क्षेत्रमा चिसो बढ्ने भएकाले मङ्सिर महिना अगाडि नै चिनियाँ भन्सारबाट आउने सामानहरू बाहिरिने भएकाले राजस्व सङ्कलनको आकार झनै बढ्ने अनुमान गरिएको छ । समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा चिसोका कारण सामान ढुवानी गर्न जाने सवारी साधनलाई समस्या भइरहेको छ । 

कोरला नाकाबाट विद्युतीय सवारी साधन बाहेक इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक धेरै भित्रिएको छ । कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन बाहेक सबै वस्तुलाई ट्रकबाट कोरला–जोमसोम–बेनी सडकखण्ड हुदै ढुवानी गर्ने गरिएको छ ।  

यता, उपल्लो मुस्ताङको सिमा क्षेत्रमा व्यापार गर्ने छोसेर र लोमान्थाङका स्थानीयले सामान लिएर चिनियाँ भन्सार कार्यालयमा पसल गर्ने र फर्किने बेलामा खरिद गरेको सामान सीमा क्षेत्रमा अवलोकन गर्न गएकालाई बिक्री गर्ने गरेका छन् । 

विसं. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो । चिनियाँ भन्सार कार्यालयले अत्याधुनिक मेसिनसहितका उपकरणहरू जडान गरी भन्सार कार्यालय सञ्चालन गरे पनि नेपालमा भने पूरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । 

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा जनशक्ती सहितको व्यवस्थापनले निर्यात तथा आयातकर्तालाई सहज भएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । 

एक सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडक खण्डमा निर्माणधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णतासहित ठुला कन्टेनर समेत सहजै आवत–जावत गर्न मिल्नेगरी सडक विस्तार अहिलेको प्रमुख चुनौती रहेको छ । कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ ।