• ८ कात्तिक २०८२, शनिबार

फूल खेतीबाट तिहारमा सात लाखको कमाइ

blog

चापाकोट–१ बेलडाँडाका कृषक तुलसीराम भण्डारीकी श्रीमती सरस्वती भण्डारी फूल टिप्नु हुँदै । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), कात्तिक ८ गते । स्याङ्जाको चापाकोट नगरपालिका –१ बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो तिहारमा फूल, माला तथा केही समय अगाडि बिरुवा बेचेर सात लाख रुपियाँ आम्दानी गर्नुभएको छ । 

तिहारमा भण्डारीले माला बेचेर दुई लाख ५६ हजार १६०, फूल बिक्रीबाट चार लाख सात हजार ५० आम्दानी गर्नुभएको हो । यसअघि नै फूलका बिरुवा बेचेर ५३ हजार आम्दानी गरेको कृषक भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पटक फूलको माग अत्यधिक भयो मूल्य पनि राम्रा पाइयो ।” 

गाउँमा नै बेचेको फूलको हिसाव नगरिएको उहाँको भनाइ छ । फूलको उत्पादन अझै केही महिना हुने भन्दै भण्डारीले यो पटक राम्रो आम्दानी हुने बताउनुभयो । भण्डारीले शिक्षण पेसाबाट अवकाशपछि व्यावसायिक फूल खेती गर्दै आउनुभएको हो । 

भएका ६० बर्षीय भण्डारीले विगत चार बर्षदेखि नै फूल खेती गर्न सुरु गर्नुभएको हो । शिक्षकका रुपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुभएका भण्डारीले गाउँमा रहेको आफ्नो तीन रोपनी जग्गामा फूल खेती गर्नुभएको छ । बाँझो जमिनको सदुपयोग गर्दै खेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उहाँको भनाइ छ ।

भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्तागरि चार वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएको छ । यो बर्ष फूल तथा माला बिक्रीबाट १० लाखभन्दा धेरै कमाइ हुने उहाँको भनाइ छ ।

धेरै लैजाने र व्यापारीका लागि प्रतिकिलो ३०० देखि ३५० रुपियाँको दरले फूल बिक्री भएको कृषक भण्डारीले बताउनुभयो । माला भने एक सयदेखि एकसय ५० सम्मा बिक्री भएको उहाँको भनाइ छ । 

फूलको बीउ खरिदमा १० हजार जति खर्च भएको भए पनि अन्य काम परिवारका सदस्यहरु मिलेर गर्दैआएको उहाँका छोरा देवीप्रसाद भण्डारीले बताउनुभयो ।