• ८ कात्तिक २०८२, शनिबार

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडा भेट अस्वीकार

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पार्नु भएको छ ।

पत्रकारले “के तपाईं एसियामा प्रधानमन्त्री कार्नीसँग वार्ता गर्नु हुन्छ ?” भनेर सोध्दा राष्ट्रपति ट्रम्पले उत्तर दिनुभयो, “होइन, मेरो कुनै योजना छैन ।” “उनीहरूले गरेको काम साँच्चिकै बेइमानी हो । मैले सुनेँ कि उनीहरूले विज्ञापन हटाउने तयारी गर्दै थिए, तर मलाई थाहा थिएन कि उनीहरूले यसलाई अझ विस्तार गरेका रहेछन् । सम्भवतः उनीहरूले यो आज रातसम्म हटाउँछन्”, ट्रम्पले विवादास्पद क्यानाडाली विज्ञापनबारे कडा प्रतिक्रिया दिँदै भन्नुभयो, “ठिक छ, यो फोहोरी खेल हो, तर म उनीहरूले गर्न सक्नेभन्दा पनि फोहोरी खेल्न सक्छु ।”

राष्ट्रपति ट्रम्पका यी टिप्पणी क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त गर्ने उहाँको बिहीबारको घोषणापछि आएका हुन् । उक्त निर्णय उहाँले ‘नक्कली’ विज्ञापनको प्रतिक्रियामा गर्नु भएको थियो, जसमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको करसम्बन्धी भाषणलाई तोडमोड गरी प्रयोग गरिएको थियो ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मा लेख्दै भन्नुभयो, “रोनाल्ड रेगन फाउन्डेसनले पुष्टि गरेको छ कि क्यानाडाले छलपूर्वक एक नक्कली विज्ञापन प्रयोग गरेको छ, जसमा रेगनले कर विरुद्ध बोलेको जस्तो देखाइएको छ । त्यो विज्ञापनको लागत ७५ हजार डलर थियो । उनीहरूले अमेरिकी सर्वोच्च अदालत र अन्य अदालतका निर्णयहरूमा प्रभाव पार्नका लागि यस्तो काम गरेका हुन् ।”

राष्ट्रपति ट्रम्पले जोड दिनुभयो, “कर नीति संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण छन् । क्यानाडाको गैरजिम्मेवार व्यवहारका कारण उनीहरूसँगका सबै व्यापार वार्ताहरू समाप्त गरिएको छ । धन्यवाद, राष्ट्रपति डिजेटी ।” यसबिच ओन्टारियोका प्रिमियर डग फोर्डले व्यापार वार्ता पुनः सुरु गर्न सकियोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कार्नीसँगको छलफलपछि विवादास्पद विज्ञापन अभियान सोमबारदेखि रोकिने भएको बताउनुभएको छ । 

तर उहाँले सप्ताहन्तमा एमएलबी विश्व शृङ्खलाका खेलमा उक्त विज्ञापन अझै प्रसारित हुने स्पष्ट पार्नुभयो । क्यानाडाको ओन्टारियो सरकारले भुक्तान गरेको भनिएको उक्त विज्ञापन अभियानका लागि करिब सात करोड ५० लाख अमेरिकी डलर खर्च भएको जनाइएको छ र ती विज्ञापन प्रमुख अमेरिकी टेलिभिजन सञ्जालमा प्रसारण भइरहेका छन् । रासस/एएनआई