• ५ कात्तिक २०८२, बुधबार

झोला गोदाममा आगलागी : ३६ लाखको क्षति

blog

आगो नियन्त्रण गर्दै सुरक्षाकर्मी तथा स्थानीयहरु । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, कात्तिक ५ गते ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मङ्गलबार साँझ ७ बजे आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गोदाममा आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको झोला बनाउने मेसिन, २० लाख रुपियाँ बराबरको तयारी भएका झोला र १३ लाख रुपियाँ बराबरको झोला बनाउँन प्रयोग गरिने मेटेरियल गरी जम्मा ३६ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । यस्तै आगो प्रहरी, नेपाली सेना, चाडपर्व लक्षित संयुक्त पेट्रोल गस्ती टोली, दमकल र स्थानीय बासीको सहयोगमा साँझ ८ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।