• ४ जेठ २०८१, शुक्रबार

भेटियो चुनढुङ्गाको खानी !

blog

कर्णाली कोरिडोर निर्माणका क्रममा चुनढुुङ्गा भेटिएको चट्टान ।तस्बिर : राजन रावत

हुम्ला, असार १८ गते  । खार्पुनाथ गाउँपालिका–१, सुनाखाडा र लालीबगर क्षेत्रमा चुनढुङ्गाको खानी रहेको अनुमान गरिएको छ । कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा चुनढुङ्गा निस्किएपछि त्यहाँ खानी भएको अनुमान गरिएको हो । नेपाली सेनाको कर्णाली कोरिडोर विकास निर्माण कार्यदलका सेनानी इन्जिनियर प्रेम खत्रीले उक्त क्षेत्रमा ठूलो परिमाणमा चुनढुङ्गाको खानी भेटिएको बताउनुभयो । 

पहिला सो क्षेत्रमा घोडेटो बाटो हुँदा चट्टानमा थोरै मात्रै चुनढुङ्गा देखिने गरेको थियो । सडक निर्माण गर्दा चट्टान नै विस्फोट गर्नुपर्ने भएपछि अहिले करिब ३० मिटर अग्लो र ३० मिटर लम्बाइ भएको चट्टानमा चुनढुङ्गा भेटिएको हो । सडक निर्माण गर्दा विस्फोट भएर निस्केको चुुनढुङ्गा सडकभन्दा तल फालिएको छ । सो क्षेत्रमा आठदेखि दस मिटर चौडा सडक निर्माण गरिएको छ ।

सो वडाका वडाध्यक्ष जयबहादुर शाहीले ठूलो परिमाणमा चुनढुुङ्गा देखिएकाले यसको अध्ययन हुनुपर्ने बताउनुभयो । उहाँले यसको अध्ययन गर्न खानी विभागलाई आग्रह गर्नुभयो । काठमाडौँमा रहेको खानी विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले त्यहाँ चुनढुङ्गाको खानी रहे-नरहेको वा कति परिणाममा कुन गुणस्तरको चुनढुङ्गा रहेको आदिबारे अध्ययन गर्न सकिने बताउनुभयो । उहाँले यसलाई सरकार वा निजी क्षेत्रले पनि अध्ययन गर्न सक्ने बताउनुभयो । 

विभागले अध्ययन गर्न सक्ने भए पनि तत्काल त्यसको सम्भावना नभएको तर कार्ययोजना बनाएर बजेटको व्यवस्था गर्न सके आगामी फागुन महिनासम्म गर्न सकिने उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले पनि यसको अध्ययनका लागि सघाउन सक्ने बताउँदै कुनै निजी कम्पनीले पनि विभागको अनुमति लिएर अन्वेषण गरेर खानी उत्खनन गर्न सक्ने बताउनुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।