कालीकोट जिल्लाको सदरमुकाम मान्म खाँडाचक्र बजारदेखि १६ कोस उत्तरमा अवस्थित राम्नाकोटको खार्दुगाउँमा पचालझरना पर्दछ । पचालझरना ३८१ मिटर अग्लो रहेको छ ।
पचालझरना देशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ । यो नेपालको सबैभन्दा अग्लो झरना हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको नेपालका सय प्रमुख गन्तव्यमध्ये पचालझरनालाई ६४ औँ स्थानमा सूचीकृत गरेको छ ।
झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना गाउँपालिकालाई हस्तान्तरणसमेत गरेको छ । कालीकोटको खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बिचमा पर्ने पचालझरनाबाट बग्ने पानी चुलीमालिकाको छेउबाट मूल फुटेर आउँछ ।
ह्यातुङझरना जुन तेह्रथुम जिल्लामा पर्ने ह्यातुङझरना देशको दोस्रो अग्लो झरना मानिएको छ । यो ३६५ मिटर अग्लो छ । पचालझरना समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको छ । एक ठाउँमा थोरै ठोकिएको लम्बाइ जोड्दा त पचालझरना ४१५ मिटर हुन आउने गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ । ह्यातुङझरनाभन्दा पचालझरनाको उचाइ १६ मिटर बढी छ ।
पचालझरना पुग्नका लागि कर्णाली कोरिडोरको लाफा गाउँबाट तीन घण्टा पैदल हिँडेपछि एक घण्टा गाडीमा यात्रा गर्नु पर्छ । झरनाको शिरमा राष्ट्रिय पन्छी डाँफे र कालिजलगायत अन्य चराचुरुङ्गी तथा घोरल, कस्तुरी, बँदेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइन्छन् । पर्यटकलाई खान बस्न खार्दु गाउँका पाँच वटा घरमा होमस्टे पनि सञ्चालन गरिएको छ ।
करिब चार हजार मिटर उचाइमा रहेको पुग मालिका हिमालको ढइगार भन्ने ठाउँमा यो झरना अवस्थित छ । उक्त ठाउँलाई ढुङ्गैढुङ्गा भएकाले ढइगार भनिन्छ र सो ठाउँमा पानी बगेको आवाज मात्र सुनिन्छ तर पानी देखिँदैन । धेरै तल आइसकेपछि मात्र पानी देख्न पाइन्छ । यहाँ बाह्रैमास र सधैँ इन्द्रेणी लाग्दछ ।
सुरुमा यो पचाल छहरो नामले परिचित रह्यो । झरनाका सम्बन्धमा एउटा किंवदन्ती छ, देउतामध्येका ठूला र प्रतापी मस्टका १२ भाइमध्ये पैचालो पनि एक थिए । पैचालोको मन्दिर कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाको खार्दु गाउँमा रहेको छ । ती देवतालाई आफू सबैभन्दा बलियो भएको घमण्ड हुँदै आयो र उनले यसै झरनाको पिँधमा बस्ने एक राक्षसकी छोरीसँग विवाह गरे । राक्षसकी छोरी विवाह गर्नेलाई समाजमा राख्न हुन्न भनेर देवताले मिलेर विवाहपश्चात् उनीहरूलाई समाजबाट अलग गरे । त्यसपछि त्यसै छहराको पिँधमा रहेको ससुरालीमा गएर बस्न थालेपछि सो झरनाको नाम देउताको नामबाट पैचाल हुँदै पचालझरना हुन गयो ।
सरकारी निकायबाट प्रचारप्रसार हुनुभन्दा पहिले राम्नाकोटका चेतनशील तथा प्रकृतिप्रेमी युवाले पैचाल छहरा विकास समिति भन्ने एक संस्था दर्ता गरी केही समय सक्रिय रूपमा यस झरनाको प्रचारप्रसारको काम गर्दै आएका थिए ।
–भरतप्रसाद देवकोटा