शंकर केसी
सल्यान, असोज १० गते । प्रसिद्ध धार्मिक स्थल सल्यानको खैरावाङ भगवती मन्दिरसम्म पुग्नका लागि भक्तजनहरुलाई लक्षित गर्दै न्यून भाडा दरमा नगर बस सञ्चालन गरिएको छ । जिल्लाको शारदा नगरपालिकाले शुक्रबारदेखि जिल्लामै पहिलोपटक नगर बस सेवा सुरुवात गरेको हो ।
दसैँमा खैराबाङमा बलि चढाउन तथा पूजा अर्चनाका लागि जिल्लासहित अन्य विभिन्न छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । मन्दिरसम्म पुग्न महङ्गोमा अन्य सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनेहरु सस्तो भाडामा नगर बसमार्फत मन्दिरसम्म पुग्न सकिने भन्दै खुसी व्यक्त गरेका छन् ।
मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैराबाङ नगरबस सञ्चालनमा आएको शारदा नगरपालिकाका प्रवक्ता राजेशकुमार शर्माले बताउनुभयो । दसैँ अवधिभर न्यूनतम ५० रुपियाँमात्र श्रीनगर देखि खैरावाङ मन्दिरसम्मको भाडा निर्धारण गरिएको छ ।
नगर प्रमुख प्रकाश भण्डारीले शुक्रबार श्रीनगरस्थित बसपार्कमा नगरबसको सेवाको शुभारम्भ गर्नुभएको हो । दसैँपछि श्रीनगरदेखि सदरमुकाम खलङ्गासम्म नगर बस सञ्चालन गरिने उहाँले जनाउनुभयो। नगर प्रमुख भण्डारीले भन्नुभयो, "हामिले नगरपालिकाको आन्तरिक राजस्वबाट बसको व्यवस्था गरेर नगरक्षेत्रका ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाइ सेवा दिने उदेश्य अनुसार लागिपरेका थियौँ । अब नगर बसलाइ नियमित सञ्चालन गरेर नागरिकलाई सेवा दिनका लागि हामी लागि पर्नेछौँ ।"
श्रीनगरबाट दुई सय रुपियाँसम्म पैसा तिरेर मन्दिरसम्म पुग्नेगरेका स्थानीयहरु ५० रुपियाँमै नगर बसमा पुग्न पाएपछि दङ्ग छन् ।
नगर बस सेवा सुरुवात कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, वडा १२, १३ र १५ नम्बर वडाअध्यक्षहरु सहित अन्य जनप्रतिनिधि यातायात व्यवसायी संस्थाका प्रमुख प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी, पत्रकार र स्थानीयहरुको उपस्थिती रहेको थियो। नगरबस खैरावाङ मन्दिर पुगेपछि स्थानीयले पञ्चेबाजा सहित स्वागत गरेका थिए ।