• १७ असोज २०८२, शुक्रबार

मर्स्याङ्दीमा दशैंलक्षित हाटबजार सुरु

blog

हाटबजारमा खसी किन्दै उपभोक्ता । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज १० गते । दशैंलक्षित गरेर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शुक्रबारदेखि कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँमा उत्पादित कृषिउपजको गाउँ–ठाउँमै बिक्री र उपभोगका लागि गाउँपालिकाले कृषि तथा पशु हाटबजार सञ्चालन गरेको हो ।

मस्र्याङ्दी –३ खुदीस्थित कृषि सेवा केन्द्रमा सञ्चालित हाटबजारमा स्थानीय उत्पादित तरकारी, फलफूल तथा खसीबोका बिक्रीका लागि राखिएका छन् । आइतबारसम्म सञ्चालन हुने हाटबजारमा किसानहरुले उत्पादन गरेका कृषिउपज, पशुजन्य उत्पादन तथा हस्तकलाका सामग्री बिक्रीका लागि ल्याएका छन् । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँका कृषकले उत्पादन गरेका उपजलाई बजारीकरण गर्न र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन हाटबजारले सहयोग मिलेको बताउनुभयो । 

हाटबजार सञ्चालन समितिका अध्यक्ष रवि थापाले हाटबजारमा गाउँ–गाउँका उत्पादनले बजार पाएको बताउनुभयो । उत्पादित कृषिवस्तु बिक्री गर्न पाउँदा किसान खुसी भएको उहाँले बताउनुभयो । गाउँपालिकाले हाटबजारलाई लक्षित गरी कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोकेको थियो । गाउँपालिकाले जंगलमा पाइने निउरो, टुसादेखि खोलामा पाइने असला माछाको समेत मूल्य निर्धारण गरेको छ । 

पालिकाभित्र उत्पादन हुने तरकारी, फलफूल, दुध दही, मासुसहित हस्तकलाका सामग्रीको मूल्य तोकिएको छ । कृषिजन्य र हस्तकलाका सामग्रीको न्यूनतम र अधिकतम बजारमूल्य निर्धारण गरिएको छ । कृषिजन्य उत्पादनतर्फ तरकारी र अन्नबाली गरी विभिन्न ९२ प्रकारका उत्पादनको मूल्य तोकिएको आर्थिक विकास समितिका संयोजक वडाअध्यक्ष घनश्याम घलेले बताउनुभयो । 

हाटबजारमा १५ केजीसम्मको जिउँदो खसीबोकाको मूल्य छसयदेखि छसय ५० सम्म, १५ देखि ४० केजीसम्म पाँचसयदेखि पाँचसय ५० सम्म विक्री गरिएको छ । जिउँदो भेडाको मूल्य ६ सयदेखि ६ सय ५० तोकिएको छ । कुखुराको भालेको मूल्य प्रतिकेजी आठसयदेखि नौसय राखिएको छ । असला माछाको मूल्य एक हजारदेखि बाह्रसय छ । ट्राउटको मूल्य एकहजार चारसय ५० देखि पन्ध्रसय तोकिएको छ । 

कृषिउपज बिक्रीका लागि मर्स्याङ्दी गाउँपालिकामा प्रत्येक साताको आइतबार हाटबजार लाग्नेगरेको छ । स्थानीय कृषि उत्पादनलाई बढावा दिन र बाह्य क्षेत्रबाट कृषिउपजको आपूर्ति न्यूनीकरण गर्न नियमित हाटबजारले टेवा पुगेको कृषि शाखा खुदीका प्रमुख विनोद दाहालले बताउनुभयो । उत्पादनलाई बजारीकरण गर्न र गाउँपालिकाका किसानलाई व्यावसायिक उत्पादनमा जोड्न नियमित रूपमा हाटबजार सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।