• १७ असोज २०८२, शुक्रबार

फिलिपिन्समा भीषण आँधी : चार लाख विस्थापित, तीन जनाको मृत्यु

blog

मनिला, असोज १० गते । फिलिपिन्समा गम्भीर उष्णकटिबन्धीय आँधी बुआलोईले प्रहार गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । देश अझै पनि यसअघि आएको सुपर टाइफुन रागासाको प्रभावबाट प्रभावित छ ।

दक्षिणी लुजोनको बिकोल क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमबाट उत्तरपश्चिम फैलिएको आँधीका कारण पर्खाल ढलेका, रूख उखेलिएका र छत उडाएका घटनामा तीन जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

मासबेट प्रान्तमा आश्रय लिइरहेका निर्वासितले ठूलो क्षति बेहोरेका छन् । “बिहान करिब ४ बजे हावाले चर्चको ढोका, झ्याल र छत उडाइदियो”, नगरपालिकामा इन्जिनियर जेरोम मार्टिनेजले एएफपीलाई भन्नुभयो । उहाँका अनुसार केही बालबालिकालाई सानो चोट लागेपछि उपचारको आवश्यकता परेको थियो ।

“यो मेरो जीवनमा अनुभव गरेको सबैभन्दा बलियो हावा हो”, उहाँले भन्नुभयो, “धेरै मानिस अझै खाली हुन बाँकी छन्, किनकि धेरै घर ध्वस्त भए, छतहरू उडेर गए र सडक अवरुद्ध छन् ।” करिब चार लाख मानिस सुरक्षित स्थानमा पुर्‍याइसकिएको नागरिक सुरक्षा अधिकारी बर्नार्डो अलेजान्ड्रोले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

बिकोलको मासबेट सहरका उद्धारकर्ता फ्रान्डेल एन्थोनी अबेलेराले भन्नुभयो, “अहिले हामी ठूलो रूख र बिजुलीका खम्बा हटाइरहेका छौँ, तर धेरै सडक अझै दुर्गम छन् । वर्षा तीव्र थियो, तर हावा अझ प्रबल थियो ।” सामाजिक सञ्जालमा सार्वजनिक भएका र एएफपीले प्रमाणित गरेका भिडियोमा मध्य फिलिपिन्सको भिसायास टापुमा बाढीका कारण सडकहरू पार गर्न मानिसले डुङ्गा प्रयोग गरेको वा कम्मरसम्मको पानीमा हिँडिरहेको देखिन्छ ।

-निरन्तर विपदको चपेटा-

फिलिपिन्स प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी र टाइफुनको चपेटामा पर्छ । यसले लाखौँ मानिसलाई गरिबीको अवस्थामा निरन्तर राख्ने गरेको छ । वैज्ञानिकका अनुसार मानव-सञ्चालित जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा आँधीबेहरी अझ प्रबल र विनाशकारी हुँदै गइरहेका छन् ।

अधिकारीहरुले बिहीबार आउँदै गरेको आँधीसँगै तीन मिटर (१० फिट) सम्मको जीवनघातक समुद्री उच्च लहर आउन सक्ने चेतावनी दिएका थिए । यसअघि आएको सुपर टाइफुन रागासाले देशको सुदूर उत्तरी भागमा कम्तीमा नौ जनाको ज्यान लिएको थियो र हजारौँ मानिसलाई विस्थापित बनाएको थियो ।

-जनआक्रोश र राजनीतिक दबाब-

भारी विपदबिच देशमा राजनीतिक आक्रोश पनि बढेको छ । करदाताका अर्बौं डलर खर्च भएको विश्वास गरिएका तर वास्तविकतामा नक्कली ठहरिएका बाढी नियन्त्रण परियोजनासम्बन्धी घोटाला बाहिर आएपछि जनतामा असन्तोष उर्लिएको छ । फिलिपिन्स सरकार अहिले उद्धार, राहत र पुनर्निर्माणमा जुटेको छ, तर नागरिकको आक्रोश र जलवायु सङ्कटसँगको चुनौती झनै गहिरिँदै गएको छ । रासस/एएफपी