काठमाडौँ, असोज १० गते । युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको उपाधिका लागि साविक विजेता भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति भएको सुपर चार खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । यसअघि बुधबार भएको खेलमा भारतले बङ्गलादेशलाई ४१ रनले हराएर फाइनल यात्रा तय गरेको थियो ।
एसिया कपको इतिहासमा भारत र पाकिस्तानबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । जितका लागि पाकिस्तानले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २४ रन मात्र बनाउन सकेको थियो ।
बङ्गलादेशका लागि शमिम हुसेनले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै सैफ हसनले १८, रिशाद हुसेन र नुरुल हसन १६/१६, मेहेदी हसनले ११ र लान्जिम हसन साकिबले १० रन बनाउनुभयो । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले तीन तीन तथा सैम अयुबले दुई विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद ह्यारिसले सर्वाधिक ३१ रन बनाउनुभयो ।
यस्तै मोहम्मद नवाजले २५, शाहिन शाह अफ्रिदीले १९, फहिम अशरफले १४ र फखर जमानले १३ रन जोड्नुभयो । बलिङमा बङ्गलादेशका तस्किन अहमदले तीन तथा मेहदी हसन र रिशाद हुसेन दुई दुई विकेट लिनुभयो । एजेन्सी