कोपनहेगन, असोज १० गते । डेनमार्कको आकाशमा पुनः संदिग्ध ड्रोन देखापरेपछि शुक्रबार केही घण्टाभित्रै दोस्रो पटक विमानस्थल बन्द गर्नुपरेको छ । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यसलाई रुससँग जोडिएको हुन सक्ने ‘हाइब्रिड आक्रमण’ को हिस्सा भएको चेतावनी दिनुभएको छ ।
यसअघि यसै हप्ताको सुरुमा कोपेनहेगन विमानस्थल बन्द भएपछि बुधबारदेखि डेनमार्कका विभिन्न विमानस्थलमाथि ड्रोन देखिएको थियो । तीमध्ये केही घण्टौँका लागि पूर्णरूपमा बन्द गर्नुपरेको थियो । यस्तै घटना नर्वे, पोल्यान्ड र रोमानियामा पनि देखिएका छन्, जसमा ड्रोन आक्रमण भएको र एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकू विमान प्रवेश गरेको जानकारी आएको छ ।
युक्रेनमाथि रुसको आक्रमण जारी रहेका सन्दर्भमा यी घटनाले युरोपमा थप तनाव पैदा गरेको छ ।प्रधानमन्त्री फ्रेडरिक्सनले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भन्नुभयो, “हालैका दिनमा डेनमार्क हाइब्रिड आक्रमणको सिकार भएको छ ।” उहाँले ड्रोन गतिविधि अझै ‘बढ्न’ सक्ने चेतावनी दिनुभयो ।
अनुसन्धान कर्ताले हालसम्म यसका जिम्मेवार व्यक्ति पत्ता लगाउन नसके पनि फ्रेडरिक्सनले प्रत्यक्षतया रुसलाई दोष लगाउँदै भन्नुभयो, “युरोपको सुरक्षामा खतरा उत्पन्न गर्ने मुख्य देश रूस हो ।” यद्यपि, मस्कोले डेनमार्कका घटनामा संलग्न भएको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्दै यसलाई ‘मञ्चित उक्साहट’ भनेको छ ।
यसअघि डेनमार्कका न्यायमन्त्री पिटर हम्मेलगार्डले आक्रमणको उद्देश्य ‘डर फैलाउने, विभाजन सिर्जना गर्ने र जनता असुरक्षित महसुस गराउने’ भएको बताउनुभएको थियो । सरकारले निकट भविष्यमै ड्रोनलाई बेअसर पार्न नयाँ प्रविधि र क्षमता भित्र्याउने तयारी गरेको छ । साथै, ड्रोन विरोधी सुरक्षाको ‘पर्खाल’ निर्माण गर्ने प्रस्तावमा डेनमार्कले शुक्रबारदेखि अन्य युरोपेली सङ्घ (इयु) देशहरूसँग छलफल सुरु गरेको छ ।
यसमा विशेष गरी रुससँग सीमा जोडिएका मुलुक सामेल हुने छन् । बुधबार र बिहीबार बिहान अलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेसमा पनि ड्रोन देखिएको थियो । विशेष गरी अलबोर्ग विमानस्थल धेरै घण्टाका लागि बन्द गरिएको थियो र बिहीबार राति फेरि संदिग्ध गतिविधि देखिएपछि शुक्रबार बिहान करिब एक घण्टाका लागि पुनः बन्द गरिएको थियो ।
“दुई घण्टासम्म ठूलो क्षेत्रमा उडेको ड्रोनलाई खसाल्न सम्भव भएन”, प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भन्नुभयो । डेनमार्कको मिलिटरी इन्टेलिजेन्सका प्रमुख थोमस अह्रेन्किलले हालसम्म ड्रोनको पछाडि को छ भन्ने पहिचान हुन नसकेको स्वीकार गर्नुभयो । तर अर्का गुप्तचर अधिकारी फिन बोर्चले भन्नुभयो, “डेनमार्कमा रुसी तोडफोडको जोखिम उच्च छ ।”
रक्षामन्त्री ट्रोयल्स लुन्ड पौल्सेनले यी गतिविधि ‘एक पेशेवर खेलाडीको काम’ जस्तो देखिएको बताउनुभएको छ । उहाँका अनुसार एउटै समयमा धेरै स्थानमा गरिएको व्यवस्थित सञ्चालन भए पनि डेनमार्कमाथि प्रत्यक्ष सैन्य खतरा भने छैन । प्रधानमन्त्री फ्रेडरिक्सनले यसबारे नाटो प्रमुख मार्क रुटसँग पनि छलफल गरेको बताउनुभयो ।
तर डेनमार्कले नाटोको धारा ४ (सदस्य राष्ट्रको सुरक्षा वा अखण्डता जोखिममा परे तत्काल वार्ता बोलाउने प्रावधान) लागू गर्ने कि नगर्ने भन्ने निर्णय अझै नभएको रक्षामन्त्री पौल्सेनले स्पष्ट पार्नुभयो । यसैबिच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो देश डेनमार्कको हवाई सुरक्षामा सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आगामी हप्तामा कोपनहेगनले युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
यता, डेनमार्कका केही नागरिकहरूले भने घटनाले आफूलाई असुरक्षित महसुस गराएको बताएका छन् । पचासी वर्षीया बिर्गिट लार्सनले भन्नुभयो, “म यस्तो देशमा बस्छु जहाँ सन् १९४५ यता शान्ति छ । युद्धका बारेमा सोच्न अभ्यस्त छैन, अहिले भने असुरक्षित महसुस भइरहेको छ ।” तर ४८ वर्षीय टोस्र्टन फ्रोलिङले भन्नुभयो, “यो सम्भवतः रुसको काम हो । उनीहरू सीमामा परीक्षण गर्दै छन्, भड्काउने प्रयास मात्र हो, प्रत्यक्ष धम्की होइन ।”
यस्तो संवेदनशील अवस्थामा डेनमार्कले हालै पहिलो पटक लामो दूरीका सटीक हतियार खरिद गर्ने घोषणा गरेको छ । रुस आउँदो वर्षमा पनि ठुलो खतरा बनेर रहने भन्दै सरकारले प्रस्ट पारेको छ । रासस/एएफपी