• १७ असोज २०८२, शुक्रबार

सहकारीमार्फत कृषकको खसीबोका विक्री

blog

ऐरावती गाउँपालिकामा सहकारीमार्फत बिक्री गर्न लागिएको खसीबोका । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, असोज १० गते । ऐरावती गाउँपालिकाका किसानले यस वर्ष सहकारीमार्फत खसीबोका बिक्री गरेका छन् । पहिलो पटक तौल गरेर खसीबोका बिक्री गर्न पाउँदा किसानहरु खुशी भएको बताएका छन् । 

बिक्री गर्दा ऐरावति गाउँपालिकाले प्रतिकेजी २५ रुपियाँ नगद अनुदान समेत दिएको छ । ऐरावती गाउँपालिकामा लागू भएको हेफर परियोजना अन्तर्गत यस वर्ष चाडपर्वलाई लक्षित गरी स्थानीय किसानहरुले सहकारीमार्फत खसीबोका विक्री गरेका छन् । 

ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले किसानले उत्पादन गरेका सामग्री खेर जान नदिन पालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले किसानलाई व्यावसायिक रुपमा अघि बढाउन उत्पादनदेखि विक्रीसम्मको काममा पालिकाले सहजीकरण गर्दैआएको बताउनुभयो ।

पालिकाभित्र गठन भएका ५२ वटा समूहबाट प्रतिनिधित्व गरी सहकारीमार्फत कृषि उत्पादनको मूल्य निर्धारण, बजारीकरणका लागि काम सुरु भएको गाउँपालिकाले जनाएको छ । ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्थाले कोसेली घरको ब्यबस्थापन गर्दैआएको छ ।

सहकारीमार्फत हालसम्म ५६ लाख ६९ हजार ११० रुपियाँ बराबरको खसीबोका बिक्री गरिएको छ । जिउँदो खसीबोकाको मूल्य ३० केजीभन्दा मुनिको प्रतिकेजी ४६० रुपियाँ र ३० किलोभन्दा माथिको प्रति केजी ५१० रुपियाँ तय गरिएको सहकारीका अध्यक्ष कमला घर्तीले बताउनुभयो ।