टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज १० गते । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँको वडा कार्यालय भवन अपाङ्गमैत्री निर्माण गरिएको छ । अहिलेसम्म भाडगाउँ आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालय एउटै भवनबाट सञ्चालन भएकाे हाे ।
जसका कारण स्वास्थ्य केन्द्रकै मापदण्ड पुगेको थिएन । दुई वटा कोठाबाट मात्रै सेवा प्रवाह गर्दा वडा कार्यालयलाई पनि निकै सास्ती भएको थियो ।
अहिले जनप्रतिनिधी, वडा सचिव, बैठक कक्ष र हलसहितको भवन निर्माण गरिएको छ । अपाङ्गता भएका व्यक्ति पनि सहज रुपमा भुइँतलादेखि छतसम्म पुग्न मिल्ने गरेर वडा कार्यालय भवन निर्माण गरिएको रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताउनुभयो । स्थानीय डिलाराम मरासिनीले चार लाख रुपियाँमा जग्गा खरिद गरेर वडा कार्यालयलाई निशुल्क प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य केन्द्र पनि अपाङ्गमैत्री रहेको छ । रेसुङ्गा नगरपालिकाका सव–इन्जिनीइर चक्र बहादुर खत्रीका अनुसार दुई चरणमा वडा कार्यालय निर्माण गरिएको छ । आर्थिक बर्ष २०८० माघ २८ गते जोगमा बिल्डर्स गुल्मीले ७९ लाख ८६ हजार रुपियाँमा निर्माणको पहिलो सम्झौता अनुसार काम भएको थियो भने दोस्रो पटक नवउत्कृष्ट कन्स्ट्रक्सन एण्ड सप्लार्यसले नौ लाख ९५ हजार रुपियाँमा २०८२ बैशाख २८ मा निर्माण सम्झौता गरेर काम सम्पन्न गरेको सव–इन्जिनीयर खत्रीले बताउनुभयो ।
त्यस्तै रेसुङ्गा नगरपालिका–२ एक तलको सानो थियो । आफ्नै घर भएपनि एउटै तलमा आधारभूत स्वास्थ्यल केन्द्र र वडा कार्यालयको सेवा प्रबाह मुस्किलले हुन्थ्यो । अहिले २० लाख खर्च गरेर तला थप गरेर आधारभूत स्वास्थ्य केन्द्र र आफुहरु छुट्टा–छुट्टै तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष हिरा बहादुर थापाले जानकारी दिनुभयो । उहाँले अहिले सेवा प्रबाह सहज र एउटै भवनबाट एकिकृत रुपमा हुँदा नागरिकलाई सजिलो भएको बताउनुभयो ।
सव–इन्जिनीयर खत्रीका अनुसार रेसुङ्गा नगरपालिका–१२ मा पनि प्रशासनिक भवन निर्माण गरिएको छ । यो भवन निर्माण व्यवसायी र उपभोक्ता समिति मार्फत निर्माण गरिएको छ । पहिलो चरणमा उपभोक्ता समिति मार्फत आर्थिक बर्ष २०८० वैशाख २४ गते २५ लाखमा सम्झौता भएर काम भएको थियो। दोस्रो चरणमा बाँकी रहेका काम २०८० असोज १३ गते ४१ लख रुपियाँमा रिमार्केवल बिल्र्डसले सम्झौता गरेर सम्पन्न गरेको थियो ।
रेसुङ्गा नगरपालिका– ११ का वडाध्यक्ष खुम रानाका अनुसार वडाको प्रशासनिक भवनका लागि दुई चरणमा एक करोड २८ लाख खर्च भइसकेको छ । तर, अझै नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाहको अवस्था छैन । घेराबार र भवनको भित्र फिनिसिङ्गका काम बाँकी रहेको रानाले बताउनुभयो । वडा कार्यालयले अहिलेसम्म स्वास्थ्यचौकीको भवनबाट सेवा प्रबाह गरिरहेको छ ।