• १८ असोज २०८२, शनिबार

धादिङमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

blog

अस्मिता पोखरेल 

धादिङबेंसी, असोज १० गते । चाडपर्व नजिकिँदै गर्दा धादिङमा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वलाई लक्षित गरी जिल्ला बजार अनुगमन समिति धादिङले बजार अनुगमनलाई तीव्र पारेको हो। 

सदरममुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा ३ र ८ मा सञ्चालित विभिन्न खाद्यन्न तथा तरकारी पसल र होटलहरुको अनुगमन गरिएको हो। अनुगमनका क्रममा चार पसललाई जरिवाना गरिएको समितिका संयोजक तथा उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिनुभयो । 

वडा नं. ३ स्थित पोखरेल किराना पसललाइ पाँच हजार, तुलसी सप्लायर्सलाई पन्ध्र हजार र एवान मिठाइ एण्ड खाजा घरलाई पन्ध्र हजार रुपियाँ जरिवाना गरिएको छ । त्यस्तै, वडा ८ को गुप्ता सप्लायर्सलाई पाँच हजार जरिवाना गरिएको छ ।

उपभोक्तालाई झुक्याउने उद्देश्यले म्याद गुज्रिएका सामान बिक्री गर्ने, कृत्रिम रङ प्रयोग गरिएको अखाद्य वस्तु बिक्री गर्ने, मूल्यसूची नटाँस्ने, पसलमा सरसफाइ नगर्ने, खरिद–बिक्रीमा बिल प्रयोग नगर्ने तथा न्यूनतम मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने गरेकाले कारबाही गरिएको जनाइएको छ ।

आगामी चाडबाडमा उपभोक्ताको हक हित सुरक्षित राख्ने लक्ष्यसहित उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य सेवा, औषधी व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अनुगमनलाई तीव्र पारेको हो ।