सुजन बज्राचार्य
संखुवासभा, असोज १० गते । अविरल वर्षासँगै मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ। करिब पाँच सय मिटर सडक बगाउँदा भोटखोला गाउँपालिकासहितका उच्च पहाडी क्षेत्रसँगको सम्पर्कविच्छेद भएको हो ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार सडक नै बाहिरी सम्पर्कको एकमात्र माध्यम भएकाले स्थानीयवासीहरू अहिले समस्यामा परेका छन् । उहाँले भन्नुभयो, “दसैँ नजिकिँदै गर्दा आवतजावत मात्र होइन, आवश्यक सामग्री आपूर्ति र बिरामी लैजानसमेत समस्या भएको छ। उत्तरी क्षेत्रका स्थानीयहरू जीवन जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य भएको अध्यक्ष भोटेले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि खाद्यान्न, इन्धन र दैनिक उपभोग्य सामग्रीको आपूर्ति रोकिएसँगै बजारमा अभाव देखिन थालेको छ । व्यापारीहरूले चाडपर्वका लागि सामग्री ल्याउन नसक्दा थप चिन्ता व्यहोर्नुपरेको छ । यात्रुवाहक र मालसामान ढुवानी गर्ने गाडीहरू बाटैमा रोकिएपछि व्यापारी तथा उपभोक्ताले मार खेपिरहेका छन् ।
यस्तै, आपतकालीन औषधी र स्वास्थ्य सामग्री अभाव भएको स्थानीयको गुनासो छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार पहिरो जोखिमपूर्ण स्थानमा खसेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न चुनौती थपिएको छ । काम सुरु गरे पनि लगातारको वर्षा र पहिरो लगातार खसेको कारण कामदार तथा मेसिन परिचालनमा समस्या भइरहेको गुरुङले बताउनुभयो ।