हरिकृष्ण ऐडी
मुगु, असोज १० गते । जिल्लाको छायानाथ रारा नगरपालिका –१० घट्टलेख गाउँका कृष्णबहादुर सेजुवालले जागीरसँगै स्याउखेती गर्नुहुन्छ । अहिले उदाहरणीय कृषक बन्न सफल हुनुभएका उहाँ वार्षिक ११ लाख रुपियाँ स्याउ बेचेर आम्दानी गर्न सफल हुनुभएको छ ।
उहाँ कृषि विकास कार्यालय मुगुको लेखापाल पनि हुनुहुन्छ । सेजुवालका अनुसार यस वर्ष स्याउ बिक्रीबाट ११ लाख रुपियाँ नगद आम्दानी भएको छ । गाउँको चौंठ्याधारा क्षेत्रमा उहाँले करिब ३ हजार ३ सय वर्गमिटर जमिनमा स्याउखेती गर्नुभएको छ ।
कुनै समयमा सदरमुकामदेखि यहाँको क्षेत्रलाई दुर्गम मानिन्थ्यो । अहिले सडक सञ्जालमा जोडिएपछि परिश्रम गरी बनाइएको बगैंचाबाट अहिले मनग्य आम्दानीसँगै गाउँका तीन जनाले रोजगार पाएको उहाँले बताउनुभयो ।
सेजुवालले भन्नुभयो, “जागीरसँगै खालि समयमा कृषि कर्म अँगाल्दा आर्थिकमा आम्दानी गर्न सकिदो रहेछ । गाउँकै जमिनमा उन्नत जातको स्याउ उत्पादन गरेर मनग्य आम्दानी गर्न सकिदो रहेछ ।”
सेजुवालले २०५३ सालमा ४५ वटा बिरुवाबाट स्याउ खेती सुरु गर्नुभएको थियो । २०५८ सालमा कर्णाली विशेष कार्यक्रममार्फत २५० वटा बिरुवा थप रोप्नुभएको थियो । अहिले उहाँको बगैँचामा ६ सयभन्दा बढी स्याउका बोट छन् । आगामी वर्ष थप जमिनमा खेती विस्तार गर्ने र आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउने योजना उहाँको छ ।
मुगुमा स्याउखेतीबाट यहाँका युवायुवतीलाई रोजगारी सिर्जना गर्ने सम्भावना छ । तर यहाँका स्याउ उत्पादन गर्ने कृषकलाई नवीन प्राविधिक ज्ञान, सिँचाइ, सडकजस्ता चुनौती अझै रहेको उहाँको भनाइ छ ।