हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ),असोज १० गते । खराब मौसम र जेनजी आन्दोलनका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान शुक्रबारदेखि पुनः सुरू भएको छ । वर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएको उडान भर्न सुरू गरेको हो ।
शुक्रबार समिट एयरलाइन्सको ट्वीनअटर जहाजले दुई उडान र नेपाली सेनाको समेत दुई उडान भएको विमानस्थलमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक मङ्गलबहादुर नेपालीले बताउनुभयो ।
शुक्रबार पोखराबाट ३३ जना पर्यटक मुस्ताङ भित्रिएको र २२ जना बाहिरिएको जोमसोम विमानस्थलले जनाएको छ । बिहीबार समिट एअरलाइन्सको एक उडान भए पनि पोखराको मौसम खराबीका कारण स्थगित भएको थियो । पर्यटकको सिजन सुरु भएकाले पोखरा र जोमसोमबाट हवाई मार्गबाट जाने पर्यटकको चाप भए पनि प्रतिकूल मौसमका कारण उडान रोकिँदा यात्रु जोमसोम–बेनी सडकखण्डबाट गन्तव्यमा जाने गरेका छन् ।
जोमसोम विमानस्थल प्रमुख दीपक पोख्रेलका अनुसार पर्यटकीय सिजन सुरू भएसँगै पोखरा–जोमसोम हवाई उडान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको नियमित उडान तालिका रहेको बताउनुभयो । यसैगरी, तारा एअरले आउँदो १५ गतेदेखि हवाई उडान भर्नेछ ।
पोखरा–जोमसोम हवाई उडान सुरु भएपछि मुस्ताङका पर्यटन व्यवसायीहरु समेत उत्साहित भएका छन् । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एअरलाइन्सले उडान भर्दै आइरहेका छन् । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकूल जस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एअरलाइन्सले बढीमा जम्मा पाँचपाँच वटा मात्रै उडान भर्दै आएका छन् ।