• १८ असोज २०८२, शनिबार

सत्यवतीका ४३ खाद्य, डेरी, मासु पसल र होटलको अनुगमन

blog

सत्यवती गाउँपालिकाका बजारक्षेत्रमा संयुक्त बजार अनुगमन । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) असोज १० गते ।
गुल्मीको सत्यवती गाउँपालिकाका ४३ खाद्य, डेरी, मासु पसल र होटलहरु संयुक्त अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय गुल्मी र सत्यवती गाउँपालिकाले संयुक्त रुपमा खैरेनी, शाहघाट, चोरकाटे, उल्लीखोला, रुद्रवेणी लगायतका बजारक्षेत्रमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, भुजा, पेय पदार्थसहित फ्रिजमा एकै ठाउँ राखेर गुणस्तरहीन देखिएको मासुलगायतका सामग्री जफत गरेर नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । उहाँले म्याद नाघेका सबै सामग्री जफत गरिएको, दर्ता नगरेका, मूल्यसूची नभएका, होर्डिङ् बोर्ड नभएका, उद्देश्यभन्दा फरक व्यावसाय गरेकालाई तत्काल कानुनी प्रक्रियामा आउन निर्देशन गरिएको बताउनुभयो ।

बजार सञ्चालन भएका व्यावसायमा सरसफाई सबैभन्दा ठुलो समस्या छ । होटलहरुका भान्सा, भाँडा माझ्ने स्थान, भण्डारण गर्ने फ्रिजहरु, गोदामहरु फोहोर भएकाले उपभोक्ताहरु पनि आफैँ सचेत भएर उपभोग्य सामग्रीको उपभोग गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत कमल सेन ओलीले बताउनुभयो । सत्यवती गाउँपालिकाले दसैँलाई लक्षित गरेर संयुक्त बजार अनुगमनको संयोजन गरेको थियो ।

गाउँपालिकाका विभिन्न बजार क्षेत्रका ११ पसलहरुबाट १० हजार ६१५ रुपियाँ बराबरका अखाद्य वस्तु जफत गरेर नष्ट गरिएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले पालिका स्तरबाट पनि समय–समयमा अनुगमन हुने भएपनि संयुक्त बजार अनुगमन प्रभावकारी भएको बताउनुभयो । बुधबार धुर्कोट गाउँपालिकाका विभिन्न पसलहरुबाट पनि म्याद नाघेका एक लाख २१ हजार ३६८ रुपियाँ बराबरका सामग्री बरामद गरेर नष्ट गरिएको छ ।

जिल्लामा नागरिक स्तरबाट बजार अनुगमन निरन्तरताको चर्को माग भइरहेको छ । तर, नियामक निकायले अनुगमनलाई चाडपर्व लक्षित गरेको आम नागरिकको गुनासो छ । सत्यवति गाउँपालिका उपप्रमुख निरमाया तरामुले नागरिक स्तरमा उपभोक्ता अधिकारका विषयमा सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले व्यक्ति स्वयं सचेत भएपछि बजार नियन्त्रण आफैं हुने भएकाले स्थानीय स्तरबाट योजना बनाउन जरुरी रहेको औँल्याउनुभयो ।